|

ओखलढुंगा : जिल्लामा एकैदिन १ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लामा गरिएको पिसिआर र एन्टिजेन परीक्षणबाट १ सय २६ जनामा आज बिहीबार संक्रमण पुष्टि भएको हो।

गत सोमबार जिल्लाका ३ सय ५६ जनाको पिसिआर परीक्षणको लागि राष्ट्रिय प्रयोगशाला टेकु पठाइएकोमा १ सय २५ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए।

त्यस्तै, जिल्लामा बिहीबार नै ७ जनाको एन्टिजेन परिक्षण गरिएकोमा सिद्धिचरण नगरपालिका १ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमण पुष्टि हुनेको संख्या १ सय २६ रहेको उनले बताए। 

पिसिआर परीक्षणबाट संक्रमण पुष्टि हुनेमा लिखु गाउँपालिकाका मात्रै ७१ जना, चम्पादेवी गाउँपालिका ३९ जना, चिसंखुगढी गाउँपालिका १२ जना र सिद्धिचरण नगरपालिका ३ जना रहेका छन्।

जिल्लामा हालसम्म ११ सय ७० जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ३ सय ७८ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट ३ सय ७८ जनाको कोरोना परिक्षण गर्दा १ सय २० जनामा संक्रमण पुष्टि भइसकेको स्वास्थ्य प्रमुख तिवारीले बताए। जिल्लामा ३ सय १ जना पुरुष र २ सय ३ जना महिला गरी जम्मा ५ सय ४ जनामा संक्रमण पुष्टि भएकोमा ४६ जनाले कोरोनालाई जितेका छन्।

संक्रमितमध्ये २४ जनाको जिल्ला अस्पताल रुम्जाटार र ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भइरहेको र अन्य संक्रमित होम आइसोलेसनमै रहेको जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.