|
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ संक्रमण विरुद्धको खोप उपलब्ध गराउने विषयमा सहयोग गर्न अन्तर्राष्टिय समुदायलाई आग्रह गरेका छन्।

बिहीबार प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा नेपालमा रहेका अन्तर्राष्ट्रिय मिडियाका संवाददाताहरुसँग अन्तरिक्रिया गर्दै उनले नेपाली नागरिक सबैलाई पुग्ने गरी कोभिड १९ विरुद्धको खोप ल्याउन सरकार प्रयासरत रहेको उल्लेख गर्दै सहयोग गर्न आग्रह गरका हुन्। अनुदानमा नभए किनेर भए पनि खोप ल्याउन सरकार तयार रहेको भन्दै त्यसका लागि सहयोग गर्न उनले सबै खोप उत्पादक राष्ट्रहरूलाई आग्रह गरे।

झण्डै २ करोडलाई खोप दिनुपर्ने भएकाले ठूलो परिमाणमा खोप आवश्यक रहेको भन्दै उनले सोही अनुपातमा खोप उपलब्ध गराउन पनि आग्रह गरे। उनले कोभिड नियन्त्रणका नेपालको प्रयासमा संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि र विश्व बैंकका क्षेत्रीय निर्देशकलगायत विभिन्न दूतावासहरुको सकारात्मक सहयोग रहेको भन्दै अन्तर्राष्ट्रिय समुदायलाई धन्यवाद दिए।

भारतपछि दक्षिण एशियामा खोप सुरु गर्ने दोस्रो मुलुक नेपाल भएको भन्दै उनले छिमेकीहरुको सहयोगका कारण खोप सुरु गरे पनि पछि विभिन्न कारणहरुले खोप उत्पादक कम्पनी र देशहरुले दिन नसकेका कारण खोपको सहज उपलब्धता नभएका कारण तीव्रताका साथ खोप कार्यक्रमलाई अगाडि बढाउन नसकेको बताए।

उनले सरकारको विरोध गर्नेहरुले प्रतिनिधिसभा विघटन गरी निर्वाचनको मिति तोक्ने निर्णयलाई  असंबैधानिक भयो भनेर विरोध गरिरहेको उल्लेख गरे। सरकारका विरोधीहरुले सरकारका अन्य कतिपय कुराहरुलाई पनि राजनीतिका विषय बनाएर आलोचना गर्ने काम भएको र सरकारले जारी गरेका अध्यादेशहरुको सम्बन्धमा पनि विरोध भईरहेकोबारे आफू जानकार रहेको बताए।

उनले विपक्षीहरुले कोभिड १९ को दोस्रो लहरलाई राजनीतिक अभिष्ट पूरा गर्ने माध्यम बनाएको दाबी गरे।

उनले भने, ‘कोभिड-१९ महामारीको यो दोस्रो लहर राजनीतिक हिसाबले अदालतलाई दबाब दिने प्रयोजनका लागि पनि र जनदबाब सिर्जना गरेर न्याय निरुपणलाई प्रभावित गर्ने उद्देश्यले न्याय अथवा थ्रेट खडा गर्ने हिसावले पनि यी विषयहरु उठे र उठाइए। जसले गर्दा सामाजिक दुरी कामय राख्नेकुराहरुमा कमी आयो। आस्थागत कारणले पनि धार्मिक जात्रा जस्ता कुराहरुमा भीडभाड गर्ने पर्ने कुराहरुले पनि सजिलोसँग संक्रमण फैलियो।‘

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.