|

बैतडी : बैतडीमा परिवार नियोजनका अस्थायी साधन अभाव भएको छ।

जिल्लाभरका स्वास्थ्य संस्थामा महिलाहरूले प्रयोग गर्ने अस्थायी साधन तीन महिने सुई (डिपो) अभाव भएको हो।

जिल्लाका सबै स्वास्थ्य संस्थामा डिपो अभाव भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। 'परिवार नियोजनको अस्थायी साधन डिपो अभाव भएको छ,' उनले भने, ‘डिपोको माथिबाट नै आपूर्ति बन्द हुँदा स्थानीयस्तरमा पनि अभाव देखिएको छ, अहिले देशभर नै अभाव भएको छ, यसको असर यहाँ पनि परेको हो।’

तीन महिनाका लागि काम गर्ने डिपो सुईको जिल्लाभरी अभाव भएपछि सेवाग्राहीहरू समस्यामा परेका छन्। गएको तीन महिनादेखि डिपो सुईको अभाव भएसँगै अनिच्छित गर्भधारण गर्नेको संख्या बढ्दै गएको बताइएको छ।

बैतडीका कुनै पनि स्वास्थ्य संस्थामा अहिले डिपो नभएकोले नियमित सेवा लिँदै आएका महिलाहरूलाई समस्या परेको छ। अहिले देशभर नै डिपो अभाव हुँदा परिवार नियोजनका अन्य साधन अपनाउनुपर्ने अवस्था आएको स्वास्थ्य कार्यालयले जनाएको छ।

बैतडीका ६८ वटा स्वास्थ्य संस्थामा डिपो अभाव भएको स्वास्थ्य कार्यालय बैतडीका परिवार नियोजन शाखा प्रमुख हरिश भट्टले बताए। अनिच्छित गर्भ रोक्ने सुई लगाउँदै आएका हजारौं महिलालाई समस्या भएको गुनासो आइरहेको छ।

'डिपो सुई प्रयोगकर्ताहरूलाई परिवार नियोजनका अन्य अस्थायी साधन प्रयोग गर्न सुझाव दिने गरिएको छ,' उनले भने, ‘कोरोनाका कारण जारी बन्दाबन्दीमा अनिच्छित गर्भ रहन नदिनका लागि परिवार नियोजनका अस्थायी साधन कन्डम प्रयोग गर्न सल्लाह दिन थालेका छौँ।’

तीन महिने सुई लगाउँदै आएका महिलाले विकल्पका रुपमा नयाँ सेवा लिन आग्रह गरिएको भएपनि बन्दाबन्दीका कारण तोकिएको स्वास्थ्य संस्थासम्म आवतजावत गर्न समस्या भएको महिलाहरूले बताएका छन्।

यसका साथै स्वास्थ्य कार्यालय बैतडीले परिवार नियोजनका स्थायी साधन तीन महिने डिपो सुईको सट्टा ५ वर्षे इम्प्लान्ट, १२ वर्षे आइयूसिडी लगायतका अस्थायी साधन प्रयोग गर्न आग्रह गरेको छ। 

स्वास्थ्य कार्यालय बैतडीको तथ्यांक अनुसार बैतडीमा तीन महिने सुई प्रयोग गर्ने महिलाहरूको संख्या अत्याधिक रहेको छ। जिल्लामा तीन महिने सुई ( डिपो) प्रयोग गर्ने १५ हजार ७९७, इम्प्लान्ट प्रयोग गर्ने एकहजार ४२६ र आइयूसिडी प्रयोग गर्ने २९७ जना रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.