|

पाल्पा : स्याङजाको कालीगण्डकी गाउँपालिका–४ बिर्घास्थित बिर्घा स्वास्थ्य चौकीलाई २२ लाख रुपैयाँभन्दा बढी रकम जुटेको छ। सामाजिक सञ्‍जाल फेसबूकबाट आह्वान गर्दा यो रकम जुटेको हो।

हेलो बिर्घा फेसबूक पेजमार्फत गरिएको आह्वानमा मंगलबारसम्म २२ लाख १० हजार १५९ रुपैयाँ रकम जुटेको पेजका एडमिन अनन्त पाण्डेले बताए। उनका अनुसार स्वास्थ्य उपकरणसहितका सामग्री पनि सहयोगस्वरूप प्राप्त भएका छन्।

१२ वटा शय्या, १२ थान अक्सिजनका सिलिण्डर, कन्सन्ट्रेटर मेसिन एक थान, ह्वीलचेयर एक थान, रक्तचाप र मधुमेह परीक्षण गर्ने मेसिनसहितका विभिन्न उपकरण र औषधिसमेत प्राप्त भएको उनले बताए। सहयोग आउने क्रम चलिरहेको छ। 

कोभिड–१९ महामारीले यस क्षेत्रका जनता पनि प्रभावित भएपछि यो अभियान थालिएको थियो। शहरका अस्पतालमा समेत अक्सिजन नपाएर अकालमै मानिसको मृत्यु हुन थालेपछि स्वास्थ्य चौकीमै अक्सिजनसहितको उपचारको व्यवस्था मिलाउन यहाँका युवाले पहल थालेको पाण्डेले बताए। 

अभियान शुरूवात गरेको एक महिना नपुग्दै यति धेरै रकम जुटेको हो। ‘बिर्घामा अस्पताल, समयमै उपचार’ भन्दै अभियान थालिएको थियो। सहयोग गर्नका लागि बिर्घामा रहेको गरिमा विकास बैंकमा ‘हेल्लो बिर्घा राहत कोष’ नामक खाता खोलेर खाता नम्बर फेसबूकबाट सार्वजनिक गरिएको छ।

बिर्घासहित कालिगण्डकी गाउँपालिका भित्र जन्म भइ विभिन्न पेशा, व्यवसाय तथा रोजगारका शिलशिलामा देशका विभिन्न ठाउँ तथा र बाहिरी मुलुकमा रहेका व्यक्तिले सहयोग गरेका छन्। 

सहयोगबाट प्राप्त भएको रकम स्वास्थ्य चौकीको स्तरोन्नतिमा खर्च गरिने पाण्डेले बताए। ‘तत्काल कोरोना संक्रमितको उपचारमा खर्च गर्छौँ,' उनले भने, ‘बचत भएको रकम स्वास्थ्य चौकी व्यवस्थापन तथा स्तरोन्नतिमा खर्च हुनेछ।’

स्थानीय सरकार र स्वास्थ्य चौकी व्यवस्थापन समितिका पदाधिकारीसँग छलफल र समन्वय गरी रकम खर्च गरिने पाण्डेले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.