|

जनकपुरधाम : महोत्तरीको गौशला नगरपालिका १० लक्ष्मीनियामा जंगली हात्ती स्थानीय बस्तीमा पसेर तीन वटा घर भत्काइदिएको छ।

आइतबार राति १२ बजेतिर विश्कर्मा टोलको बस्तीमा हात्ती पसेर त्यहाँ स्थित रामएकवाल मण्डल, वीरेन्द्र मण्डल र नरेश मण्डलको घर भत्काएको हो।

कच्ची घर भएका मण्डल परिवारको हात्तीले घर भत्काएपछि विजोग भएको छ। रामएकवालले भने, ‘घरमा तीन जना थियौँ। राति मस्त सुतेका थियौँ, एक्कासि घर हल्लिन थाल्यो, ब्युझेर हेरेपछि हात्तीले एकातिरको घरको भित्ता भत्काइसकेको रहेछ, अनि सबैजना उठेर अर्को भित्ता भत्काउन थालेका बेला भाग्यौँ, नत्र ज्यान जाने थियो होला।’

२ वटा हात्तीले रातको समयमा मण्डल परिवारको फुसको घर भत्काउनुका साथै अन्नपात खाएर र भाँडा–कुँडासमेत कुल्चेर क्षति पुर्‍याएको पीडित बताएको छ।

घर भत्काएर हात्ती सोही स्थानमा एकघण्टा सम्म बसिरहेको थियो। पछि गाउँलेले राँको बालेर , थाल, भाँडाकँडा ठटाएर, होहल्ला गरेपछि मात्र हात्ती त्यहाँबाट भागेका थिए।

हात्तीले तीन घर भत्काउनुको साथै अन्न, भाँडाकुँडासमेत नष्ट पारेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदीप बस्यालले जानकारी दिए।

सचेत हुन आग्रह

महोत्तरीको वन क्षेत्रमा केही जंगली हात्तीको झुण्ड पसेकोले वन क्षेत्र वरिपरिका स्थानीयलाई सचेत हुन डिभिजन वन कार्यालय महोत्तरीले आइतबार नै आग्रह गरेको थियो। दिउँसो वन कार्यालयले सचेत गराए पनि राति हात्तिले आक्रमण गरेर स्थानीयको घर भत्काएको छ।

 

डिभिजन वन कार्यालय महोत्तरीका प्रमख विनोद सिंहका अनुसार हात्तीको झुण्डले शनिबार राती गौशाला नगरपालिका वडा नं. ११ लक्ष्मीनियाँ स्थित सागरनाथ वन विकास परियोजनाको युनिटको आवास घर भत्काएको र  टावरमा क्षति पुर्‍याएको छ।

वन क्षेत्रमा स्थानीयवासीलाई प्रवेश नगर्न डिभिजन वन प्रमुख सिंहले अनुरोध गरेका छन्।

हात्ती आकर्षक हुने चिजहरु रक्सी, सक्खर जस्ता वस्तु घरमा नराख्न डिभिजन वन प्रमुख सिंहले अनुरोध गरेका छन्। साथै उनले हात्ती आएमा राँको बालेर टिन ठट्याएर धपाउन सर्वसधारणलाई जानकारी दिएका छन्।

 

‘हात्ती पर्सा राष्ट्रिय निकुञ्जबाट आएको अनुमान छ’ वन प्रमुख सिंहले भने, ‘गाउँले निकै डराएका छन्। रातभरि सुतेका छैनन्।’ केही वर्षअघि पनि लक्ष्मीनियामा हात्ती आएको थियो।

‘हात्ती सागरनाथ वन विकास परियोजनाकै जङ्गलमा रहेको छ। अझैं हात्ती नफर्किएकोले गाउँमा त्रास कायमै छ’ स्थानीयवासी माधव बहादुर तामाङले भने, ‘लक्ष्मीनिया आसपासमा त्रास बढेको छ। यहाँ जङ्गली हात्ती मात्र नभई अन्य जङ्गली जनावरको समेत डर रहेको छ।’ पछिल्लो समय निल गाई, बदेल जस्ता जङ्गली जनावरको आक्रमण बढ्दै गएकाले स्थानीयवासीमा त्रास बढेको उनले बताए।

तामाङका अनुसार यस क्षेत्रमा नील गाई र बदेल खेतमा पसेर लगाएको बाली खाएर किसानलाई ठूलो क्षति पुर्‍याउने गरेको भने अहिले हात्ती आएर दुःख दिन थालेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.