|

सत्तारुढ एमालेभित्र नेताहरुका बीचमा बिवाद चलिरहेको छ। एकताका कुरा र विभाजनका गतिविधि भएका कारण सर्वसाधारणमा त्यसले अन्योलको सिर्जना गरेको छ।

एमालेको असन्तुष्ट समूहले केन्द्रदेखि स्थानीय तहसम्म नै समानान्तर समिति तयार गरिसकेका कारण अब दुई समूह बीचमा सहजै एकता लगभग असम्भव देखिँदै गएको छ। यत्रो बिवाद भइसकेपछि अलग अलग पार्टी गठन गरेर केही समय अभ्यास नगर्दै चर्को विवादकै बीचमा एकता गरियो भने त्यो विष्फोट पूर्ण पनि हुन सक्छ। 

एमालेको माधव नेपाल पक्षले २०७५ जेठ २ गतेको अवस्थामा पार्टीलाई पु¥याउने जुन अवधारणा ल्यायो, त्यो नै एमालेलाई एक हुन नदिने जड थियो। यद्यपि त्यसलाई एमाले अध्यक्ष ओलीले कार्यनीतिक चेपुवामा परेर स्विकार गरिसकेका छन्। त्यसलाई स्विकार गर्नुको अर्थ  २०७५ जेठ २ मा पार्टीलाई फर्काएर माधव नेपाल समूहले २०७५ जेठ ३ गते भएको माओवादी केन्द्रसँगको पार्टी एकतालाई मान्यता नदिनु हो। एकताको इतिहासलाई मेटाउनु हो।

त्यति मात्र होइन त्यसपछि भएका पार्टीका गतिविधिलाई बेवास्ता वा गणना नगर्ने जुन नीति अगाडि सारेको त्यसले कसै गरे पनि एमालेको पार्टी एकता भइहाले पनि सार्थक हुनसक्दैन।

एमालेको संस्थापन पक्षका नेता केपी ओली र असन्तुष्ट पक्षका माधव नेपाल समूहले पार्टी एकता गर्ने नै हो भने हाल एमालेको जे अवस्था छ त्यसलाई दुबै पक्षले निःशर्त स्वीकार गर्नु पर्दछ। त्यसपछि दुबै पक्षले खासखास घटनालाई नकिटे पनि आ-आफ्नो तर्फबाट भएको गल्ती र कमी कमजोरीलाई भविष्यमा दोहरिन नदिने प्रणका साथ सार्बजनिक रुपमा लिखित आत्मालोचना गर्नुपर्दछ।

 त्यसपछि अब के गर्ने भन्ने कुराहरु आउँछन्। एमालेको आगामी महाधिवेशनको मिति परिवर्तन गरेर भएपनि दुबै समूहका केही नेताहरुलाई राखेर सानो र नयाँ महाधिवेशन आयोजक समिति बनाइनु पर्दछ।

त्यसैगरी देशैभर बनाइएका समानान्तर समितिहरु केन्द्र बाटै एकमुष्ट विघटनको घोषणा गरेर सबै समितिहरु निश्चित मापदण्डका आधारमा पुनर्गठन गरिनु पर्दछ। त्यसो नगर्ने हो भने दुबै समूह आ-आफ्नो बाटो लाग्दा राम्रो हुन्छ।

बुझ्नुपर्ने कुरा के छ भने यतिबेला केपी ओलीसँग बनिबनाउ पार्टी र साथमा सरकार पनि छ। त्यस्तो अवस्थामा माधव नेपाल समूहले संस्थापनको समानान्तर शक्ति ठान्नु गलत हुन्छ। सर्वोच्च अदालतको २०७७ फागुन २३ गतेको फैसलाले एमाले र माओवादी केन्द्रलाई अलग गरेको हो भन्ने एउटा अफवाह फैलाइएको छ। वास्तवमा त्यो सरासर झुठ कुरा हो।

सर्वोच्चको फैसलाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नामलाई मात्र खारेज गरेको थियो। नाम खारेज भएपनि एमाले र माओवादी केन्द्रका नेताहरुले एकता कायम नै राख्न चाहेको भए सो फैसला बाहिर आएको आधा घण्टा भित्रमा नेपाल कम्युनिष्ट पार्टीको पछाडि अर्को नयाँ पुच्छर झुन्ड्याएर पार्टी एकता कायमै रहेको दाबि गर्न सकिने अवस्था थियो। त्यसो गर्न सकेको भए सर्वोच्च अदालत होइन संसारको कुनैपनि शक्तिले दुई पार्टीको एकतालाई अलग गराउन सक्ने थिएन।

तत्कालीन नेकपाका अध्यक्षद्वय बीचको आपसी मनोमालिन्य र तिक्तताले गर्दा एमाले र माओवादी केन्द्र फागुन २३ अगावै व्यवहारिक रुपमा भित्रभित्रै विभाजित भैसकेका थिए। फागुन २३ गतेको फैसलाले आआफ्नो बाटो लाग्ने बहाना मात्र बनाइएको हो।

यतिबेला पनि एमाले र माओवादी केन्द्रको नेतृत्वले चाहने हो भने फेरी नेपाल कम्युनिष्ट पार्टीको पछाडि नयाँ पुच्छर जोडर आजको आजै पार्टी एकतालाई ब्यूँताउन सकिने अवस्था छ। एमाले र माओवादी केन्द्र मिलेर नेकपा गठन भएपछि पार्टीलाई विधि र पद्धतिअनुसार सञ्चालन नगरी पार्टीको समिति बाहिर गएर गुट बनाउनेहरु को को थिए ? सबैले राम्ररी चिनेका छन्।

यथार्थमा तत्कालीन नेकपालाई फुटाउने तिनै ब्यक्ति हुन् अदालत र निर्वाचन आयोग होइन। सिद्धान्तहीन तरिकाले एमाले र माओवादी केन्द्रका बीचमा पार्टी एकता गराएर फेरी फुटको अवस्थामा पुर्‍याउनेहरुले नै हालको सबै भाँड भैलोको सिर्जना गरेका हुन् र गरिरहेका छन्। भित्री रुपमा एकले अर्काको पार्टी तहसनहस पार्ने मनसाय राखेर पार्टी एकता गरेपछि हुने परिणाम यही नै हो।

अर्को कुरा के पनि छ भने यति बेला माओवादी केन्द्र र एमालेको माधव नेपाल समूह नेपाली कांग्रेस र जसपा जस्ता दक्षिणपन्थी पार्टीहरूसँगको कार्यगत एकतामा रहेका छन्। कम्युनिष्ट पार्टी नेतृत्वको सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार गठन गराउन उनीहरुले टुपिदेखिको बल लगाएको देखिएको छ।

मौका पर्‍यो कि कांग्रेस र अनेक गैर कम्युनिष्टसँग पटकपटक कार्यगत एकता गर्नेहरूसँग कुनैपनि कम्युनिष्ट समूहले पार्टी एकता गर्दैन र गर्नुहुँदैन। बिभिन्न पार्टीबाट निकालिएका लुच्चा, लफङ्गा र आवाराहरुलाई समेटेर कोही कसैले पार्टी बनाउँछ भने त्यसलाई कम्युनिष्ट पार्टीको संज्ञा दिन सकिँदैन।

यतिबेलाको अवस्थामा नेकपा (मसाल) र सो पार्टीको राष्ट्रिय जनमोर्चा आफ्नै पार्टी संगठनको क्रममा छ। नेकपा (माले) माधव नेपालहरूसँग पार्टी एकता त के कार्यगत एकता समेत नगर्ने पक्षमा रहेको छ। नेमकिपासँग पार्टी एकता गर्ने कोही कसैले पनि कल्पना नगर्दा हुन्छ।

ऋषि कट्टेल नेतृत्वको नेकपा, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको ( क्रान्तिकारी माओवादी) लगायतका दर्जन बढी कम्युनिष्ट समूहले हालैमात्र कार्यगत एकताको घोषणा गरेका छन्। उनीहरु हालको व्यवस्थाको समाप्ति र जनमत संग्रह बाट समाजवादी व्यवस्थाको स्थापनाको पक्षमा पुगेका छन्।

यस्तो अवस्थामा एमालेको माधव नेपाल समूहसँग कसले पार्टी एकता गर्छ ? हावा कुरा गरेर जनतामा भ्रम सिर्जना गर्नु राम्रो होइन। आफूले नेतृत्व नपाएपछि महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सडकबाटै हटाउने, अरु पार्टीका व्यक्तिहरुसँग मिलेर आफ्नो पार्टीको नेतृत्वलाई तथानाम गाली गर्ने र भैरहेको बनिबनाउ पार्टी भताभूंग बनाएर नयाँ पार्टी बनाउने ? यो कुन कम्युनिष्ट नैतिकता र आचरणको कुरा हो ?

त्यसैले एमालेका मित्रहरुले सकिन्छ भने आजको अवस्थालाई आधार बनाएर पार्टी एकढिक्का बनाएर अगाडि बढौं। होइन भने एमालेको बिवाद चर्काएको जस्तो बहाना गरेर नेपालका सारा कम्युनिष्टहरुको तेजोबध गर्ने काम नगर्नु राम्रो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.