|

धनुषा : नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रदेश २ को प्रदेशसभा बैठक अवरुद्ध गरेका छन्। 

विपक्षी दलका सांसदहरुले स्थानीय तहलाई प्रदेश सरकारले पठाएको शसर्त बजेटमा मनपरी गरेको आरोप लगाउँदै प्रदेशसभा बैठक अवरुद्ध गरेका हुन् ।

विपक्षी सांसदहरुले प्रदेशसभा बैठक सुरु भएलगत्तै विशेष समय लिएर बोल्दै प्रदेशसभामा मुख्यमन्त्रीले जवाफ नदिएसम्म बैठक चल्न नदिने अडान लिएपछि सभामुख सरोज कुमार यादवले प्रदेशसभा बैठक एक घण्टाका लागि स्थगित गरेका छन् ।

प्रदेशसभा बैठकमा आज ’विनियोजन विधेयक, २०७८ को सिद्धान्त, उद्देश्य, प्राथमिकता तथा प्रमुख नीति सम्बन्धमा (कर प्रस्ताव वाहेक) छलफल’ गरी छलफलमा उठेको प्रश्नको आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले जवाफ दिने कार्यसूची रहेको छ ।

प्रदेशसभा बैठक सुरु हुनासाथ नेकपाका प्रदेश सांसद सुन्दर बहादुर विश्वकर्माले प्रदेश सरकारले प्रदेशसभा र प्रदेश सांसदलाई अपमान गरी स्थानीय तहमा शसर्त अनुदानको बजेट बढाएको भन्दै आपत्ति जनाए। उनले बजेट संशोधन नभए सम्म प्रदेशसभा अवरुद्ध गर्ने बताए ।

नेपाली कांग्रेसका सांसद वीरेन्द्र सिंहले  स्थानीय तहको शसर्त अनुदानको योजना प्रदेश सांसदको सिफारिसमा छनौट गर्ने सहमती विपरित स्थानिय तहलाई योजना पठाएकोमा आपत्ति जनाए ।

माओवादी केन्द्रका सांसद रामकुमार यादवले  प्रदेश सांसदले दिएको योजनालाई रद्दीको टोकरीमा फ्याँकेर सरकारले आफ्नो पार्टीका नेता पाल्ने योजना स्थानीय तहमा पठाएको आरोप लगाए ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.