|

काठमाडाैं : मेलम्ची खानेपानी आयोजनाले आवश्यक पूर्वाधारका निर्माण कार्य सम्पन्न भएपछि गत फागुन १० गतेबाट मेलम्ची नदीको पानी पथान्तरण गरी सुरुङ परीक्षण आरम्भ गरेको थियो।

परीक्षण आरम्भ गरिएको १२ दिनपछि फागुन २२ गते सुन्दरीजलमा पानी आइपुगेको थियो। सुन्दरीजलमा उपलब्ध पानी यही वैशाख ६ गतेबाट काठमाडौं उपत्यकाको वितरण प्रणालीमा उपलब्ध गराइएको थियो।

बिनाकुनै प्राविधिक समस्या हालसम्म पथान्तरित पानी काठमाडौंबासीलाई वितरण गरी परीक्षणको कार्य सफल भएको लागि मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। 

सुरुङ परीक्षण गर्न सुरुङमा पानी भर्ने, Pressurized अवस्थामा राख्ने, सुरुङ खाली गर्ने, निरीक्षण गरी आवश्यक सुधारका कार्य गर्नुपर्ने भएकाले वर्षायाम अगावै सुरुङ खाली गरी निरीक्षण गर्ने, आवश्यक सुधारका काम गर्ने र पुनः पानी भर्ने कार्य प्रारम्भ गर्नुपर्ने भएकाले असार १ गतेबाट सुरुङ खाली गरी निरीक्षण गरिने र पुनर्भरण गर्ने काम सुरु गर्न लागेको समितिले जनाएको छ। 

यो निरीक्षण अवधि करिब २ महिनाको हुने र सुरुङ खाली गर्न १६ दिन लाग्ने बताइएको छ। बाँकी समय सुरुङ निरीक्षण, परीक्षण र सुधार कार्य गर्न र पुनः पानी भर्न लाग्नेछ। त्यस अवधिभर काठमाडौं उपत्यकामा मेलम्चीको पानी उपलब्ध नहुने र यसबाट काठमाडौंबासीमा पर्न जाने असुविधाप्रति समितिले क्षमायाचना मागेकोछ।

यो अन्तिम चरणको कार्य जतिसक्दो चाँडो सम्पन्न गरी पानी पथान्तरणलाई नियमित गर्न हरतरहले प्रयास गर्न समिति प्रतिबद्ध रहेको जनाइएको छ। 

सुरुङ खाली गर्ने क्रममा मेलम्ची नदी, अडिट टनेल रहेको सिन्धु, ग्याल्थुम लगायतका क्षेत्रहरु साथै बाग्मती नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले असार १ गतेबाट नदी किनारमा नजान र काम विशेषले जानुपर्ने भए विशेष सावधानी अपनाउन पनि समितले आग्रह गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.