महामारीको दोष बोक्ने चाहिं कसले !

|

जीवनमा जस्ता प्रतिकूलता या असफलता भोग्नु परेपनि हामीले त्यसको दोष अरूलाई दिँदै आयौँ। अहिले हामी महामारीको चपेटामा परेका छौँ। वैश्विक महामारीको यो क्षणमा दोष चाहिँ कसलाई दिने?

यो प्रश्नले एकछिन स्तब्ध बनाउन सक्छ। तर, जवाफ दिन तयार छौँ त? हामी प्रत्येक यसका हिस्सा हौँ भनेर हामीले कहिल्यै सोचेका छैनौँ सायद! 

हामीले आधुनिक भन्ने गरेको कृत्रिम जीवनशैली यो महामारीको कारण हो वा होइन? मनन गरौँ-हाम्रा पुर्खाको प्राकृतिक जीवनशैली, सादगीपन, परिश्रम अनि विश्रामको सन्तुलन मिलेको शारीरिक अनि मानसिक स्वास्थ्य। 

हुन त यसअघिको समयमा पनि महामारी नआएको होइन। बिफर, औलो, हैजा र प्लेग लगायतका महामारी रोगले त्रस्त बनाएका समाचार धेरै सुनेका छौँ। तरपनि, आजको कोरोना महामारीले सृजना गरेको भय देख्दा लाग्छ-हाम्रो जीवनशैलीले यसमा धेरै भूमिका खेलेको छ। 

स्वास्थ्यप्रति सचेतना

जीवनमा धेरै दु:ख र संघर्ष गरेर धन कमाइन्छ। पद र सम्मान आर्जन गरिन्छ। तर, स्वास्थ्य ठीक भएन र ठीक तरिकाले आर्जन गरेका चिजहरूको उपयोग गर्न पाइएन भने ती सब के का लागि?

महामारीमा प्रमुख सचेतना स्वास्थ्यप्रति नै हुने रहेछ किनकी स्वास्थ्य ठीक भएन भने सुख र आत्मसम्मान मिल्दो रहेनछ। 

के हो त स्वास्थ्य ? 

विश्व स्वास्थ्य संगठनले मानिस शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक रूपले स्वस्थ छ भने मात्र ऊ स्वस्थ व्यक्ति कहलाउँछ भनेर परिभाषा गरेको छ। 

स्वास्थ्य के हो भन्ने कुरा साधारण मानिसले भन्दा बढी रोगलाई जितेको, रोग लागेर मृत्यु नजिक पुगेको र पनि बाँच्न सफल भएको व्यक्तिले साँचो अर्थमा बताइदिन्छ।

मेडिकल डाक्टरले पनि रोग के हो भन्न सक्छन्। तर, स्वास्थ्य के हो भन्न गाह्रो पर्छ। किनकि रोगको अनुपस्थिति नै स्वास्थ्य हो। किनभने जब बिरामी भइन्छ-तब स्वास्थ्य खोज्न थाल्ने चलन छ। 

जब असहज, प्रतिकूल र हैरानीको अनुभूति हुन थाल्छ-शारीरिक, मानसिक, सामाजिक रूपमा या त आध्यात्मिक रूपमै उसमा बिरामीका लक्षण देखिन थाल्छन्। किनकी, आध्यात्मिक अर्थमा स्वास्थ्य भनेको स्व-स्थित हो। 

स्वयम्‌को जीवनशैली र स्वभावमा स्थित हुन नसकेर अस्थिर हुनु अस्वस्थताको लक्षण मानिन्छ। त्यसैले त बाहिर जति स्वस्थ र स्फुर्त देखिए पनि भित्रबाट खोक्रो, रित्तो पनि त्यत्तिकै हुन्छ मानिस। 

बाहिर विभिन्न आडम्बर बोकेर स्वस्थ देखिने कोसिस गरेका भएपनि भित्र-भित्र केहि अभाव, अपूर्णता महसुस गरिरहेका हुन्छौँ। यसको कारण कृत्रिम कुराको प्रयोगमा बढी जोड दिएका कारण पनि स्वास्थ्यमा खराबी देखिन थालेको होइन? हाम्रो संस्कार कृषिबाट विकसित हुँदै आएको हो। यही कृषि कर्मको कारण शारीरिक परिश्रम हुन्थ्यो, अनि स्वास्थ्य पनि सन्तुलनमा थियो। 

खेतबारीमा खनजोत, सरसफाइ, रोप्ने र काट्ने आदि कामले शारीरिक व्यायामलाई सन्तुलनमा राखेको थियो। उकाली, ओराली, भीरपाखा सबैले मनलाई प्रकृतिमा विचरण गराएको हुन्थ्यो। यसले गर्दा मानसिक स्वास्थ्य र सकारात्मक सोचाइ कायम राख्न मद्दत पुगेको थियो। आफ्नै खेतबारीको स्वच्छ उत्पादन भान्छामा पुग्थ्यो। 

आज शारीरिक व्यायामको लागि प्रदूषित शहर चक्कर लगाउँदै डिजिटल घडीमा कति किलोमिटर हिँडियो भनेर नाप्नुपर्ने अवस्थाप्रति गर्व गर्नुपर्ने समय आयो। 

समथर शहरमा चक्कर लगाउँदा पनि तिमी १५ तला माथि उक्लियौँ भनेर प्राविधिक मापनले फुरुङ्ग पारिदिएको हुन्छ। शारीरिक परिश्रम पछिको भोक, आराम र निद्रालाई हाम्रा पुर्खाले औषधिको सहारा लिनुपरेन। आज हामीसँग खानेकुरा प्रशस्त छ। तर, मधुमेह, थाइराइड, उच्च रक्तचाप जस्ता अनेक रोगको कारण मात्रा अड्कलेर खानुपर्छ। सुविधायुक्त बिछ्यौना छ। तर, निद्रा लाग्दैन। 

कृषि पेशा गर्छु भन्दा इज्जत नभएको मानिन्छ। त्यसैले त अरूमा निर्भर कृषिजन्य उत्पादन, मासुजन्य या त दुग्धजन्य उत्पादन र पदार्थ सबैमा विषादी र कृत्रिम रङ, क्रिम आदिको अत्यधिक प्रयोग हुन थालेको छ। प्राङ्गारिक-अर्गानिक र शुद्ध खाद्य पदार्थ उपभोगबाट वञ्चित हुनुपर्ने अवस्था छ। 

कोदो, मकै, फापरका परिकार पाक्ने ठाउँमा फास्ट फुडले स्थान लिएको छ। शरीर र स्वास्थ्यका लागि भन्दा स्वादका लागि खान रुचाउँछौँ आजकल। जस्तो खान्छौँ-हाम्रो रगत त्यस्तै उत्पादन हुन्छ र विचार पनि। 

विचार स्वस्थ नहुँदासम्म शरीर, मन र मस्तिष्क स्वस्थ रहँदैन। अस्वस्थ व्यक्तिले गर्ने व्यवहार, वचन, कर्म कसरी असल र स्वस्थ हुन सक्छ? हाम्रो जीवनशैली र खानपानले नै भय, अस्वस्थता र बेचैनको महामारी सृजना गरिरहेको छ। 

सजगता र सन्तुष्टि 

एक रात मुल्ला नसरुद्दिन नशाले मातेर मध्यरातमा घरको ढोकामा आइपुगे। उनकी वृद्ध आमा छोरालाई ढोका खोलिदिन आइपुगिन्। लरबराइरहेका मुल्लाले माफी माग्दै भने, 'देवीजी! म भूलवश यहाँ आइपुगेँ, घरमा वृद्ध आमा बाटो हेरेर बस्नुभएको होला। मेरो घर जाने बाटो ठेगाना बताइदिनुहुन्छ कृपया!'

आमाले दिक्क मान्दै भन्नुभयो, 'मूर्ख! तेरो घर यही हो र तेरी आमा मै हुँ।'

'देवीजी! मलाई भुलाउने कोशिस नगर्नुस्, नशाको कारण मैले घर जाने बाटो भूलेँ। मलाई मेरो घर जाने बाटो बनाइदिनुस्, तपाईंको कल्याण हुन्छ।' आमाले भनेको सुन्दैन मुल्ला नसरुद्धीन।

​विचार स्वस्थ नहुँदासम्म शरीर, मन र मस्तिष्क स्वस्थ रहँदैन। अस्वस्थ व्यक्तिले गर्ने व्यवहार, वचन, कर्म कसरी असल र स्वस्थ हुन सक्छ? हाम्रो जीवनशैली र खानपानले नै भय, अस्वस्थता र बेचैनको महामारी सृजना गरिरहेको छ। 

​आमाछोराबीच विवाद चल्न थाल्यो। छिमेकीले हल्ला सुने र हालचाल बुझ्न आए। 

मुल्लाको कुरा सुनेर सबै उसलाई सम्झाउन थाले, 'यही हो तिम्रो घर।'

तर, मुल्ला मान्दैन। जम्मा भएका मानिसहरूमध्ये एकजनाले मुल्लालाई मोटरमा राखे र भने, 'चिन्ता नगर्नुस्, म तपाईंलाई तपाईंकै घर पुर्‍याइदिन्छु।' मुल्ला खुसी हुँदै भन्न थाले, 'यो भिडमा एकजना त असल मान्छे पनि भेटियो।' 

अब छिमेकीहरू पनि आश्चर्यमा पर्न थाले, फेरि यो व्यक्तिले के गर्न थाल्यो?

ती मानिसले मुल्लालाई गाडीमा राखेर लिएर हिँडे। उनले मुल्लालाई १० किलोमिटर जति अन्तै घुमाए र फर्काएर घरमा ल्याएर छोडे। ती व्यक्तिले मुल्लालाई भने-'सर! तपाईंको घर टाढा नै रहेछ। यतिका समय लाग्यो घर पुग्नलाई।' मुल्ला खुसी हुँदै ती व्यक्तिलाई धन्यवाद दिए। 

मुल्लाको यो हालत सुनेर हामीलाई हाँसो लाग्छ। तर, हामी पनि प्रायजसो यस्तै छौँ। सफल बन्ने नशा, सम्पन्न बन्ने नशा, भौतिक सुविधा र सुखभोगका अभिलाषाले आफ्नै घर बिर्सेका छौँ। 

कयौँ पटक हाम्रा आफ्ना शुभेच्छुकले, आफन्तले, गुरूहरूले तिम्रो घर, तिमीले खोजेको चीज यही हो भनेर सम्झाउने प्रयास गरे होलान्। तर, हामीले सुनेनौँ। सुनिरहेका छैनौँ। 

१० ठाउँ ठक्कर खाएपछि मात्र आफ्नो वास्तविकता थाहा पाएका उदाहरण होलान् पक्कै पनि। हाम्रो अपेक्षा र कामनाले कसरी बेहोस बनाइरहेको हुन्छ। हामी हुस्सुलाई थाहै हुन्न। 

अहंकारको औषधि

हामीले आफैँले उब्जाएको महामारी रोग गुनासो र अहंकार बारे मनन गरौँ त! जसको उपचार कुनै चिकित्सकसँग छैन। यसको औषधि कुनै पसलमा पाइँदैन। यो आफैँले उब्जाएको रोग हो र उपचार आफैँले मात्र गर्न सकिन्छ। 

यसको औषधि आफ्नै हातमा छ र सजिलो छ-गुनासो र अहंकार मुक्त जीवन जिउने कला जान्नु। कर्ता र ज्ञाता अर्थात् म गर्ने हुँ, मैले गरेर भएको छ भन्ने भावका साथ कर्म गर्नु र म जान्नेछु, म जतिको जान्ने कोही छैन भन्ने भावले नै अहंकारमा लैजान्छ। 

अहंकार जस्तो ठूलो रोग स्वयम्‌का लागि अरू कुनै छैन। तर, त्यही जान्ने हुँ र गर्ने हुँ भन्ने कर्ता र ज्ञाता भाव र विचार छोड्नासाथ रोगमुक्त भइन्छ। रोग आर्जन गर्ने व्यक्ति स्वयम्‌ले हो। कुनै राम्रो काम गर्यो या कसैलाई गरिदियो भने अहंकार अगाडि आइहाल्छ मैले गरिदिएको भनेर। मैले गरेर भएको, मैले नगरिदिएको भए उसको काम बन्ने थिएन, आदि आदि कर्ता भावले नजानिँदो अहंकारको जरा गाडेको हुँदोरहेछ। 

अर्को पक्ष, आफूलाई विद्वान् ठान्नु, अरूभन्दा जान्ने नै छु जस्तो लाग्नु, त्यो भावलाई मनभित्रै सञ्चय गरेर राखे पनि ज्ञाता छु म भन्ने भावले क्यान्सरभन्दा खतरनाक रोग भित्रभित्रै सिर्जना गर्ने रहेछ। कतिको अनुभवले सिद्ध भइसकेको तथ्य हो यो। 

परिवारलाई गरेको सहयोग होस् या साथीभाइ, इष्‍टमित्रलाई दिएको, धार्मिक कार्य होस् या दान-दक्षिणा, सामाजिक सहयोग होस् या कुनै अनुदान, ठूलो ट्रष्टलाई या राजनीतिक दललाई दिएको चन्दा होस् या गरिब दु:खीलाई गरेको सहयोग। 

कुनै आयोजना मार्फत देश र समाजमा गरेका जुनसुकै सहयोगका काम हुन् त्यसमा कर्ताभाव र प्रचार प्रसार जरुरत हुनुपर्छ जस्तो लाग्दैन। किनकी, यस्ता कर्ताभाव र प्रचार प्रसारले अहंकारमा लैजान्छ। मैले गरेँ, मैले जाने बस त्यसलाई साक्षी पूर्वक हेर्ने। यसमा घमण्ड गर्नुपर्ने कुरा छैन। बरु, अहोभावले भरिँदै र म जान्ने हुनुमा, मैले गर्न सक्नुमा क-कसको सहयोग र भूमिका छ त्यसप्रति धन्यवाद र अहोभावले भरिनसके त्यो व्यक्तिजस्तो स्वस्थ अरू हुनै सक्दैन। 

कर्मशील त हुनैपर्छ भन्नेमा प्रत्येक व्यक्ति ज्ञाता नै छ। तर, त्यसलाई घमण्ड र अहंकारसाथ नलिएर साक्षीपूर्वक हेर्नसक्ने कलाको विकास जरुरी हुनेरहेछ। अहंकार जस्तो महारोगबाट मुक्त भएर स्वस्थ रहन सकेमात्र मानिसलाई आनन्द मिल्छ। 

ध्यान र योगद्वाराभित्र डुब्ने कला जान्न सके विस्तारै मानिस अहंकारमुक्त हुन्छ। अहंकार मुक्त भइसकेपछि प्रेम, करुणा, दयाजस्ता गुण फलिभूत हुन थाल्छन्। यो भन्दा ठूलो स्वस्थता लक्षण के हुन सक्छ? 

महारोगबाट पर रहेर स्वस्थ गुण कायम राख्ने कला सिक्नासाथ आत्मसम्मान प्राप्त हुन्छ। यो आफ्नै जीवनको भोगाइ, जिउने तरिका र आफ्नो कर्मबाट आफैँलाई बोध गराउने तरिका हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.