|

रुकुम (पूर्व) :  यतिबेला चोक, चौतारा, सार्वजनिक क्षेत्र सुनसान छन्। हरेक वर्षको यो समयमा दिनहुँ बाक्लो उपस्थिति हुने ठाउँ सुनसान छन्। नाच्ने, गाउने त परको कुरा केही संख्यामा जम्मा हुने अवस्था समेत छैन्। गत वर्ष र यस वर्ष कोरोना भाइरस संक्रमणका कारणले बलपूजा अर्थात भूम्या पर्व सुनसान भएको हो।

पहिलेका वर्षमा जेठ महिनादेखि भूम्याको सुरुवाती गरेर जेठ मसान्त र असार १ गते लेकमा गइ फूल टिप्ने र भूमि देवतालाई धारधूप गरी परापूर्वकाल देखि गर्दै आएको विधिगत रूपले गाउँ गाउँमा रौनकताका साथ भूम्या पर्व मनाउने गर्दछन्। 

तर, कोरोना संक्रमणका कारणले भूम्याको सुरुवात सम्म भएन। विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसले यो पर्व मनाउन दिएन। कोरोना भाइरसका कारण न सर्वसाधारणले भूम्या पर्वको तयारी गरे न हाल यो पर्व धुमधामका साथ मनाउने तयारी नै रह्यो।

‘यो वर्ष भूम्या पर्व मनाउन सम्भव भएन’ भूमे-२  गाबाङका बिरबहादुर बुढा मगरले भने,‘यो पर्व मनाउन थालेदेखि पहिलो दोस्रो पटक रोकिएको हुनुपूर्व, कोरोनाको त्रासका कारणले सामूहिक रूपमा मनाइने भूम्या पर्व मनाउन डराउनुपर्ने अवस्था रह्यो।’ मिठो, मसिनो खाने, घरमा परिवारले मात्रै पूजा, पाठ गरेर भूम्या मनाएपनि बाँकी सामूहिक रूपमा हुने काम बन्द भएको बुढामगरले जानकारी दिए।

भूम्या कसरी नाचिन्छ

ठाउँ र बस्तीअनुसार यसलाई फरक फरक नामले चिनिन्छ। कतै बल्क, कतै नामक, बलपूजा, कतै भूम्याकै नामले यो पर्व चिनिन्छ। समग्रमा यसलाई भूम्या पर्व भन्दा सबैले बुझछन्द। दसैं, तिहार तथा अरु चाडबाडमा खासै वास्ता नदिने मगर समुदाय भूम्या पर्वलाई महत्त्व दिएर मनाउँछन्।

लेक र बेसी अर्थात भूमि पुज्ने पर्व बलपूजा अर्थात भूम्या नाच हो। जेठ मसान्त र  असार १ (आज) को दिन लेक र बेसीलाई पुज्नुका साथै असार पहिलो साता सम्ममा दैनिक नाचगान गर्ने गरिन्छ। वर्षातको समयमा लेकबाट बाढी, पहिरो नझरोस् बेसीको बालीनाली खोलाले नबगाओस्, खेतबारीको कटान नहोस्, जनधनको क्षति नहोस्, बालीनाली सप्रिओस्, रोगब्याधी, महामारी, आँधीहुरी नआओस् भन्ने जनविश्वासका साथ बलपूजा मनाउँदै आइएको मगर समुदायको जनविश्वास छ। यो वर्ष भूमि देवतालाई शान्त गर्नको लागि मात्र पूजा गरिएको छ।

भूम्या नाच २२ चाला नाच्ने गर्दछन्। उक्त नाच ग्रामिण चालचलन तथा रितिरीवाजलाई प्रत्येक्ष चित्रण गरिएको पाइन्छ। सुरुमा गुरु चाला तथा भूम्या नाचको नामबाट आरम्भ गर्ने गरेका स्थानीय अगुवा बताउँछन्। नाचका नाम हात मिलाउने जसले एकअर्कामा सद्भाव मित्रता कायम राख्ने सांकेतिक जनाउँछ। खुकुरी नाच जसले दैनिकीय कामकाजमा प्रयोग गरिन्छ। सबै चालका नाचले दैनिकीय चलनचल्तीमा आधारित बनाएर झल्काइ राखेको छ।

यस्तै, गाई दुने, फूल टिप्ने, साङ्ल बाते, निगालो निकाल्ने, दल्कनी नाच, गुना बसाल्ने, तीन पाइले त्यसैगरी घुमाउने, एकहोरो, दोहोरी, रुमाल सपकाउने लगायतको नाचको नामबाट प्रत्येक नाचको फरक–फरक लयको बाजामा नाचको नाम दिएको आधारमा हाउभाउ इसारामा नाच्ने गर्ने गरेको भूमे –२ काँक्रीका मदन रोका मगरले बताए। 

आकर्षक पोसाकमा सजावट

रुकुम, रोल्पा, बाग्लुङ  आसपासका मगर खाम भाषी समुदायमा मुख्य गरी मनाउने गर्दछन्। तर, पछिल्लो समयमा यहाँ स्थानीय बसाइसराइ गरी विभिन्न ठाउँमा गएकाले उक्त ठाउँ तथा जिल्लामा पनि मगर समुदायले मनाउने गरेका छन्।

यी नाचमा पुराना पोषाकमा सजिएर नाचगान गर्ने गर्दछन्। शिरमा ढाँका टोपीसहित पगरी गुथाएका हुन्छन्। त्यसैगरी मगर समुदायमा प्रचलित भेषभूषामा गुन्यू, चोली, पछ्यारी, गरगहना, गाडा, पटुका, चौवन्दी, खुर्पेटो लगायतमा झकीझकाउ भएर बाहिरी घेरामा महिलाको लाइन र भित्रि घेरामा पुरुषको लाइनमा नाच्ने गर्दछन्। यो वर्ष भने भूम्या रौनकताबिहिन भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.