छलफलबिना अघि बढे ओली, चिढिए प्रभु शाह

|

काठमाडौं : नेकपा एमालेमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्ष र वरिष्ठ नेताद्वय झलनाथ खनाल तथा माधवकुमार नेपाल समूहबीचको लडाइँ उत्कर्षमा छ। 

एमाले औपचारिक रुपमा विभाजन नभए पनि फरक पार्टीको अभ्यासमा छ। तर, दुवै समूहका दोस्रो तहका नेताहरू एमाले एकताको पक्षमा लागिरहेका छन्।
 
ओली बहिर्गमनको प्रयासरत विपक्षी गठबन्धनमा सामेल भएका नेता नेपाल समूह विश्वस्त बनेन। सर्वोच्च अदालतले समेत ओलीले एकलौटी गठन गरेको दसौँ महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिने फैसलापछि थप दबाब पैदा भयो। 

यद्यपि नेकपाको एकता भंग भएपछि ओली २०७५ जेठ २ कै अवस्थामा फर्किन राजी भए पनि नेपाल समूह त्यसमा सहमत भएन। 

त्यसो त ओली जेठ २ मै फर्किन राजी भएपछि माओवादी केन्द्र छाडेर एमालेमै रहेको नेताहरू समायोजनमा समस्या पर्ने देखिन्छ। अदालतले फागुन २३ गते नेकपाको एकता भंग गरेलगत्तै ओलीले एकलौटी रुपमा माओवादी केन्द्रका नेताहरूलाई समेत सामेल गरेर महाधिवेशन आयोजक कमिटी गठन गरेका थिए। तर, नेता नेपाल समूह ओलीको निर्णयलाई स्वीकार गरेर अघि बढ्न पक्षमा देखिएको छैन। 

एमालेभित्रको विवाद चल्दै गर्दा माओवादीबाट आएका नेताहरूलाई उचित व्यवस्थापन गर्ने प्रवक्ता प्रदीप ज्ञवाली बताउँछन्। अध्यक्ष ओलीलाई नै नेतृत्व स्वीकार गरेर आएपछि आवश्यकताअनुसार जिम्मेवारीका साथ व्यवस्थापन हुने उनको भनाइ छ। 

गुटबन्दी गर्दैनौँ

एमालेमा रहेपछि पूर्वमाओवादी खेमा भनेर आफूहरूले गुटबन्दी नगर्ने माओवादी केन्द्र छाडेर एमालेमा गएका पूर्वखानेपानी मन्त्री मणि थापा बताउँछन्। 

उनी भन्छन्, ‘अब हामी एमाले भइसक्यौँ। एमालेमा रहेपछि पूर्वमाओवादी खेमा भनेर हामी कुनै गुट बनाउँदैनौँ। कम्युनिष्ट पार्टी आफ्ना पनि गुट उपगुटले ग्रस्त छ। हाम्रो त्यस्तो कुनै सोच छैन।’

नेकपाको पहिलो अध्यक्ष ओलीलाई नेतृत्वमा मानेर आएको भएकाले अब फेरि माओवादीमा फर्किने सम्भावना नरहेको उनको भनाइ छ। एमालेको विवाद समाधान गरेर सबै एकै ठाउँमा आउनुपर्ने उनको मत छ। एकताबद्ध एमाले भएर गुट उपगुट बनाउने कुरा सबैले त्याग्नुपर्ने उनले बताए। 

मन्त्रिपरिषद् पुनर्गठनको विषयमा लिएर तल्लो तहबाट केही असन्तुष्टिका स्वर सुनिए पनि आफूहरू असन्तुष्ट नभएको उनले दाबी गरे। ‘बाहिर धेरै हल्ला भयो। तर, बाहिर हल्ला भएजस्तो होइन’, उनले भने, ‘काम गर्दै जाँदा सामान्य मतभेद हुन सक्ला।’

‘पूर्व माओवादी खेमाका नेताहरूले पूर्वगृहमन्त्री रामबहादुर थापा बादललाई नेता नै नमान्ने भन्ने कुरामा पनि उनी अस्वीकार गर्छन्। सामान्य घटनामा बादललाई नेता नमान्‍ने भन्ने कुरै हुँदैन,’ उनले भने। 

त्यसो त बादलले आफ्नो श्रीमतीलाई सञ्चारमन्त्री बनाएपछि एमालेमा रहेका पूर्व माओवादी खेमामा विवाद जन्मिएको छ।  

‘छलफल भएन तर, त्यसलाई ठूलो मानेनौं

प्रधानमन्त्री ओलीले जेठ २७ गते मन्त्रिपरिषद् विस्तार गरे। कम्युनिष्ट नेतृत्वमा दुई तिहाइ बहुमतसहित सरकारमा गएको ओली सरकारमा ११ जना जनता समाजवादी पार्टी जसपाका नेताहरू छन्। 

तर, आफ्नो सत्ता संकट टार्नका लागि बलियो मियोको भूमिका खेलेका माओवादीको नेताहरूको तर्फबाट दुई जना मात्रै सरकारमा सहभागी गराए। मन्त्रिपरिषद् हेरफेरको बेलामा प्रधानमन्त्री ओलीले आफूहरूसँग छलफल नै नगरेको पूर्वउद्योगमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य लेखराज भट्ट बताउँछन्। 

उनी भन्छन्, ‘मन्त्रिपरिषद् विस्तारको क्रममा हामीसँग छलफलचाहिँ नभएको हो। कम्तीमा हामीसँग छलफल हुनुपर्छ भनेको हौँ। तर, हामी प्रधानमन्त्रीलाई सजिलो बनाउनुपर्छ। भन्ने पक्षमै थियौँ। सामूहिक रुपमा छलफल गर्दा नै ओलीलाई अफठ्यारो भएकाले सहज बनाउनुपर्छ भन्नेर लागेकै थियौँ।’

ओलीलाई नै नेतृत्व स्वीकारेको भएकाले पूर्वमाओवादीको कुनै गुटबन्दी नहुने स्पष्ट पारे। 

‘हामी गुटबन्दी गर्ने पक्षमा छैनौँ। ओलीकै नेतृत्व चाहान्छौँ। उहाँलाई नै बलियो बनाउनुपर्छ’ उनले भने, ‘पूर्वमाओवादीबाट आएकालाई आवश्यकताअनुसार माथिदेखि तलसम्म जिम्मेवारी दिनुपर्छ भन्ने हाम्रो भनाइ हो।’

नेकपाभित्रको अन्तरसंघर्षमै आफूहरू एकताको पक्षमा उभिएको दाबी गर्छन्। 

‘नेकपामै छँदा नै अन्तर संघर्ष सुरु भएको थियो। प्रचण्ड र माधवजीहरूले ओलीले दुवै पद छोड्नुपर्छ भनेर लागेपछि पार्टी विभाजन हुने देखिएकाले एकताको पक्षमा लागेको थियौँ’, उनले भने। 

एमालेभित्रको विवाद पनि गुटीय मानसिकताको कारण मात्रै भइरहेको आरोप लगाउँछन्। 

उनी भन्छन्, ‘एमालेभित्रको विवाद दुई लाइनको संघर्ष पनि होइन। पहिलेदेखिको गुटीय मानसिकताको कारणले अहिलेको परिस्थिति बनेको छ। अहिले एकता कसरी बनाउन सकिन्छ भनेर छलफल भइरहेको छ।’

झलनाथ खनालले उपचारको क्रममा जाँदै गर्दा महासचिवलाई भन्नुको साथै वक्तव्य जारी गरेपछि एकताको सकारात्मक सन्देश पैदा भएको उनले बताए। ओली पनि एकताको पक्षमा लागिरहेको उनको भनाइ छ। एमाले फुट्यो भने कम्युनिष्ट आन्दोलनलाई नै क्षतविक्षत हुने उनको तर्क छ। 

चिढिए प्रभु शाह पनि 

माओवादी छाडेर एमाले सरकारमा सामेल भएका प्रभु शाह अहिले ओलीसँग चिढिएका छन्। सत्ता संकट टार्न ओलीलाई साथ दिएका शाह सरकारबाट बाहिरिएलगत्तै चिढिएका हुन्। 

साविक नेकपाभित्रको संघर्षमा ओलीलाई साथ दिएका शाहले अदालतले एमाले र माओवादी केन्द्र ब्युँत्याएपछि कसरी अघि बढ्ने भन्ने विषयमा ओलीसँग मतभेद बढेको स्रोत बताउँछ।  

‘उहाँ जनताको बहुदलीय जनवाद नभई जनताको जनवादसहितको राजनीतिक वैचारिक कार्यदिशा हुनुपर्ने, एकताकै भाव झल्किने गरी पार्टीको नयाँ नामकरण हुनुपर्ने, पार्टीको सांगठनिक गतिविधि पनि एकताकै भावअनुरूप हुनुपर्ने पक्षमा हुनुहुन्छ। तर, ओली त्यसमा सहमत हुनुभएन’, उनले भने। 

ओली र शाहबीच पटक पटक वार्ता भए पनि सहमति बन्न नसकेको उनको भनाइ छ। 

‘कतिपय वार्तामा रामबहादुर थापा बादल र टोपबहादुर रायमाझीसहितका माओवादी नेताको पनि सहभागिता थियो, तर प्रगति भने खासै हुन सकेन। आफ्नो मागको ठोस सम्बोधन नहुँदासम्म बढ्न नसक्ने उहाँको अडान छ’, उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.