|

धरान : धरान उपमहानगरपालिकाले कृषकहरूलाई कालो बंगुरको पाठापाठी नि:शुल्‍क वितरण गरेको छ। २५ जना कृषकहरुलाई प्रतिव्यक्ति ४ वटाका दरले १ सय वटा कालो बंगुरको पाठापाठी वितरण गरेको  हो।

धरान १३ स्थित कृषि उपज बजारमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी धरान उपमहानगरका मेयर तिलक राईले कृषकहरुलाई कालो बंगुरको पाठापाठी  वितरण गरका हुन्।

मेयर राईले कृषकहरुलाई उपयुक्त खोर बनाउन सुझाव दिँदै बंगुरको पाठापाठी  लगेर मास्न नहुने बताए। कृषकहरुलाई प्राविधिक ज्ञान र सहयोग रहने पनि जानकारी दिनुभयो। बेला बेलामा कृषि शाखाका प्राविधिकहरुलाई बोलाएर परामर्श लिन पनि मेयर राईले आग्रह गरे।

‘धरान उपमहानगरपालिकाले अनुगमन पनि गर्छ। हप्ता दिन, महिना दिन। अनुगमनमा हामिले दिएको बंगुरको पाठापाठी खोरमा राखेको पाएनौँ भने तपाईहरुलाई कारबाही पनि हुन्छ। जरिवाना पनि हुन्छ,’ मेयर राईले भने, ‘किसानहरु सही ढंगबाट हिँड्न सकेमा स्थानीय सरकार, प्रदेश र केन्द्रीय सरकारले आवश्यक परेको खण्डमा अनुदान दिन सक्छ।’

मेयर राईले पशुपालनबाट फाइदा लिन सकिने बताउँदै धरान उपमहानगरपालिकाले कालो बंगुरलाई प्रवर्द्धन गर्ने उद्देश्य लिएको बताए। यसवर्ष कृषकहरुलाई इटहरीबाट बंगुरको पाठापाठी ल्याएर वितरण गरिएको बताउँदै अर्को वर्ष वितरण गर्दा धरानमै उत्पादन भएको बंगुरको पाठापाठी वितरण गर्नुपर्नेमा मेयर राईले जोड दिए।

धरान उपमहानगरपालिकाका पशु शाखाका अनुसार यसभन्दा अघि २५ जना कृषकहरुलाई एक सय वटा बंगुरको पाठापाठी वितरण गरिएको थियो।

दोस्रो चरणमा धरान-६ चौकीडाँडा बंगुर पालन कृषक समूह, वडा नं. ४ का खैरेनीटार बंगुर पालन कृषक समूहका २५ जना कृषकलाई छनोट गरी एक सय वटा बंगुरको पाठापाठी वितरण गरिएको हो।

यस्तै, पहिलो चरणअन्तर्गत पत्रंगबारी बंगुरपालन कृषक समुहका छुटेका ५ जना कृषकलाई पनि बंगुरको पाठापाठी वितरण गरिएको  पशु शाखाले जनाएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.