जनकपुरधाम : महोत्तरीमा एक महिला दुई साता बढीदेखि बेपत्ता भएपछि माइती पक्षद्वारा हत्याको आशंका व्यक्त गरेका छन्। प्राप्त जानकारीअनुसार लोहारपट्टी नगरपालिका-७ भ्रमरपुरा गाउँबाट मुकेश ठाकुरकी पत्नी २६ वर्षीया सुजिता ठाकुर विगत १७ दिनदेखि बेपत्ता छन्।
गत जेठ २० गते रातिदेखि नै घरबाट हराई रहेकी सुजिताको माइती पक्षले उनको घर पक्षबाट हत्या भएको आरोप लगाएको छ।
महोत्तरी कै पिपरा गाउँपालिका-६ रतौली माइती रहेको सुजिताकी आमा सुनिता पाण्डेय र दाजु जितेन्द्रले सुजिताको हत्या गरेको आरोप लगाएका छन्।
जितेन्द्रले बहिनीका देवर रूपेशले आफूलाई फोनमा बहिनीलाई मारेको स्वीकार गरेको र मारेर उनलाई भ्रमरपुरा गाउँको मनरहिया वनमा खाल्डो खनी गाडेको आरोप लगाए।
प्रहरी उपरीक्षक दिनेश आचार्यले महिला हराएको जानकारी असार ४ गते शुक्रबार मात्रै प्राप्त भएको बताए। उनले महिला हराएको जानकारी पाउनासाथ अनौपचारिक रुपमा खोजतलासको प्रक्रिया अगाडि बढाइएको र केही मानिसलाई ल्याएर सोधपुछ पनि गरेको जानकारी दिए।
सुजिताकी आमा सुनिता पाण्डेले छोरीको अवस्था पत्ता लगाई दिन मानवअधिकारकर्मी तथा संचारकर्मीहरूलाई आग्रह गरेकी छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।