|

काठमाडौं : स्थानीय तह निर्वाचनका लागि चीनबाट ल्याइएको १० हजार थान मतपेटिका रसुवाको केरुङ नाकामा आइपुगेको छ। चीनबाट ल्याउन लागिएको ३० हजार थान मतपेटिकामध्ये १० हजार थानको केरुङमा भन्सार जाँचपास समेत भइसकेको निर्वाचन आयोगले जनाएको छ।

आइतबारसम्म उक्त मतपेटिका निर्वाचन आयोगको केन्द्रीय कार्यालयसम्म आइपुग्ने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए। '१० हजार मतपेटिका केरुङ नाकामा आइपुगेको छ। भन्सार जाँचपास प्रक्रियामा रहेकाले केही दिनभित्रै निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा आइपुग्छ' उनले भने।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि ३० हजार थान मतपेटिका ल्याउन टेण्डर आह्वान गरेको थियो। एनआईटी नामक कम्पनीले १० करोड ७९ लाख रुपैयाँमा टेण्डर पारेको थियो।  अरु २० हजार थान मतपेटिका पनि चीनबाट ल्याउने क्रममा रहेको निर्वाचन आयोगका प्रवक्ता शर्माले जानकारी दिए।

यसअघि संविधानसभा निर्वाचन गर्दा नेपालले जापान सरकारको पूर्ण सहयोगमा मतपेटिका ल्याएको थियो। तर यसवर्ष तोकिएको समयभित्र जापानले मतपेटिका दिन नसक्ने बताएपछि खरिद गरिएको हो। आयोगले दुईवटा संविधानसभा निर्वाचन गर्दा प्रयोग गरेको करिब ५० हजार थान मतपेटिकालाई पनि यसवर्ष स्थानीय चुनावमा प्रयोग गर्नेछ।

निर्वाचन आयोगले वैशाख १ गतेदेखि स्थानीय तह निर्वाचनका लागि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भनेपनि अहिलेसम्म त्यसका लागि सामग्री छापेको छैन। मतदाता शिक्षाका लागि बुकलेट र पम्पलेटको डिजाइन तयार भइसकेपनि छाप्न बाँकी रहेको आयोगका प्रवक्ता शर्माले बताए। त्यस्तै आयोगले स्थानीय चुनावका लागि उम्मेदवार मनोनयन पत्र करिब ६ लाखको संख्यामा आवश्यक पर्ने अनुमान गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.