|
फाइल फोटो

संखुवासभा : तिब्बतसँग सीमा जोडिएका संखुवासभाको भोटखोला र मकालु गाउँपालिकामा १८ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ। यस क्षेत्रका १० हजार जनालाई खोप लगाइने स्वास्थ्य कार्यालय संखुवासभाका प्रवक्ता रोशन श्रेष्ठले बताए।

उत्तरी क्षेत्रको दुर्गम भोटखोलामा पहिलो चरणमा असार १३ देखि १५ गतेसम्म खोप सञ्चालन गरिने गाउँपलिका अध्यक्ष तेम्बा भोटेले जानकारी दिए। १८ वर्षभन्दा माथिका नागरिकलाई खोप कार्यक्रममा सहभागी हुन अध्यक्ष भोटेले अनुरोध गरे। 

भोटखोलाको १९ स्थानमा खोप केन्द्र तोकिएको छ। सिङ्गो गाउँपालिकावासीले एकैपटक कोरोनाविरुद्धको खोप लगाउन पाउनु खुसीको खबर भएको अध्यक्ष भोटे बताउँछन्। सबै नागरिकलाई अनिर्वाय सहभागी हुन जानकारी दिइसकेको उनले बताए। 

त्यस्तै, मकालुमा असार १३ देखि १८ गतेसम्म खोप कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष तेजबहादुर पोख्रेलले जानकारी दिए। मकालुका २४ स्थानमा खोप केन्द्र तोकिएको छ। गाउँपालिकाका सबै नागरिकलाई अनिवार्य खोप लगाउन अध्यक्ष पोख्रेलले अनुरोध गरेका छन्। उनले पायक पर्ने खोप केन्द्रमा उमेर खुल्ने प्रमाणपत्रसहित सहभागी भई खोप लगाउन आग्रह गरेका छन्।

निषेधाज्ञाका कारण भोटखोलासम्म जान नसक्ने भोटखोलावासीलाई मकालुको नुममा खोप लगाउने व्यवस्था मिलाइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। 

संखुवासभामा हालसम्म ११ हजार २१४ जनालाई पहिलो चरण खोप लगाइसकिएको छ।सात हजार पाँच सय जना दोस्रो डोज लगाउन बाँकी रहेका छन्। चीन सरकारको सहयोगमा प्राप्त भेरोसिल्ड खोप तिब्बतसँग सीमा जोडिएका गाउँपालिकाका सबै नागरिकहरलाई पहिलो चरणको खोप लगाउने तयारी भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.