|

हेटौंडा : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीले सरकारलाई स्वास्थ्यमा सचेत बनाएको बताएका छन्। 

सोमबार बागमती प्रदेश सरकारद्वारा सञ्चालित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक सत्रको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

उनले कोरोना महामारीले देशको स्वास्थ्य सेवालाई प्रभावकारी रुपमा अगाडि बढाउन सरकारलाई सचेत बनाएको बताए। शिक्षाको लगानी नै सबै क्षेत्रको विकासको लगानी भएकाले सरकारले आफ्नो कार्यकालमा बालबालिकाको स्कुल भर्नादेखि विभिन्न किसिमको शैक्षिक कार्यक्रम सञ्चालन गरेको उनले दाबी गरे।

‘असामान्य ढंगले हामी सबैले कोरोना महामारीको सामना गरिरहेका छौं। विश्वलाई नै यस महामारीले प्रभावित पारिरहेको छ। जसले गर्दा स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्न सरकार सचेत बनेको छ,’ उनले भने।

प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्रको दक्ष जनशक्ति उत्पादन गरेर मदन भण्डारीको प्रतिभालाई अझै उचाइमा पुर्‍याउने गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्न प्रतिष्ठानलाई आग्रहसमेत गरेका छन्। स्वास्थ्यको खोज अनुसन्धानलाई अगाडि बढाउन मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले देशमै महत्वपूर्ण योगदान पुर्‍याउने उनले विश्वास व्यक्त गरे।

यस्तै प्रतिष्ठानका कूलपति तथा प्रदेश मुख्यमन्त्री डोरमणि पौडेलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले सबैभन्दा फरक ढंगले काम गर्ने बताएका छन्। पौडेलले प्रतिष्ठान बागमती प्रदेशको मात्रै नभएर देशकै गौरवको आयोजना भएको भन्दै यसले स्वास्थ्यमा अनुसन्धानलाई केन्द्रबिन्दुमा राख्ने बताए। पौडेलले प्रतिष्ठानअन्तर्गत हेटौंडा अस्पताललाई उपत्यका बाहिरको सबैभन्दा ठूलो अस्पताल बनाउने दाबी गरेका छन्।

प्रतिष्ठानले स्थापना भएको पहिलो वर्षमा नै तीन वटा विषय अध्यापन गराउने अनुमति पाएको छ। चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक सत्रका लागि प्रतिष्ठानलाई ८० सिट निर्धारण गरेको छ। जसमा बिपिएचमा २०, बिफार्मा ३० र बिएस्सी एमएलटीमा ३० सिट तोकिएको छ।

अस्पतालका रजिष्ट्रार राजेश प्रसाईंले चिकित्सा शिक्षा आयोगले परीक्षा केन्द्र रोज्न विद्यार्थीलाई अनुरोध गरिसकेको हुँदा आगामी साउनदेखि नै शैक्षिक कार्यक्रम सुरु हुने जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.