|

काठमाडौ : राष्ट्रिय  मानव अधिकार आयोगले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठसँग रूपा सुनार प्रकरणमा स्पष्टीकरण सोधेको छ। आयोगले मंगलबार कार्यालयमै बोलाएर स्पष्टीकरण लिएको आयोगका  प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिए। 

मानव अधिकार आयोगले रूपा सुनार प्रकरणको निगरानी गरिरहेको प्रवक्ता पोखरेलले बताए। त्यो सामाजिक विभेदसँग सम्बन्धित घटना भयो। त्यसमा न्यायिक र कानुनी प्रक्रिया सुरु भइसकेपछि मन्त्रीले झण्डा लिएर  छुटाउन पुग्नु  कानुनको शासन र मानव अधिकारविपरीत भएको पोखरेलको भनाइ छ। 

मानव अधिकार आयोगले घटनाबारे प्रेस विज्ञप्ति जारी  गर्दै मन्त्रीलाई  त्यस्तो गल्ती नदोहोर्‍याउन चेतावनीसमेत दिएको छ। शिक्षामन्त्रीले कारगेट र झण्डा लिएर जानु गलत भएको बताए।

तनहुँकी रूपा सुनारले थरकै आधारमा आफूलाई काठमाडौंको बबरमहलमा घरबेटीले कोठा नदिएको भन्दै सरस्वती प्रधानविरुद्ध उजुरी दिएकी थिइन्। लगत्तै प्रधान पक्राउ परेकी थिइन्।

सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नू भन्दै प्रधानलाई थुनामुक्त गर्न प्रहरीलाई आदेश दिएको थियो। प्रहरीबाट प्रधानलाई छुटाउन असार ९ गते शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ झण्डासहितको गाडी लिएर अनामनगरस्थित महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.