|

हेटौंडा : मकवानपुरको हेटौंडामा रहेको सरकारी कार्यालहरूमा विद्युतको चरम दुरुपयोग  हुने गरेको पाइएको छ। बुधबार बिहान हेटौंडामा रहेको करिब आधा दर्जन सरकारी कार्यालय पुग्दा विद्युतको दुरुपयोग भएको भेटिएको छ। 

विद्युत खपतलाई घटाउने अभियानमा प्राधिकरण लागिरहँदा सरकारी कार्यालयहरू भने उल्टै जथाभावी अनावश्यक खपत गरिरहेका छन्। बुधबार हेटौंडामा बिहानैदेखि ठूलो पानी परिरहेको थियो। बाहिर पानी परिरहँदा प्रदेशको मन्त्रालयदेखि हेटौंडा उपमहानगरको कार्यालयमा खाली कोठामा पंखा, कम्प्युटर र बत्ती बलिरहेको थिए।  

हेटौंडा उपमहानगरपालिकाको पाँच वटा कार्यकक्षमा पुग्दा कर्मचारीको कुर्सी खाली थियो। तर त्यहाँको बत्ती, पंखा र कम्प्युटर भने चलिरहेका थिए। उपमहानगरका मेयरका राजनीतिक सल्लाहकार नरहरि महतको कार्यकक्षमा रहेको कुर्सी खाली भए पनि बिजुलीको दुरुपयोग भइरहेको थियो। उनको कक्षभित्र पंखा घुमिरहेको थियो।

उपमहानगरका अन्य विभिन्न शाखाको पनि अवस्था उस्तै थियो। कार्यालय आउँदा विद्युतीय सामग्री प्रयोग गर्ने उपमहानगरका कर्मचारीले त्यसको प्रयोगपछि बन्द नगर्ने गरेका त्यहीँका एक कर्मचारीले बताए।

नाम नबताउने सर्तमा ती कर्मचारीले भने, ‘कार्यालयमा सधैं यस्तै हो। कोठाभित्र आउनेबित्तिकै सबैले जाडो भए पनि पंखा खोल्ने, उज्यालोमा पनि बत्ती बाल्ने र कम्प्युटर खोल्ने गर्नुहुन्छ। बाहिर निस्किँदा बन्द गर्न कसैको ध्यान पुग्दैन। त्यसैले दिनभरि पनि खाली कोठामा पंखा र बत्ती चलिरहेको हुन्छ।’

हेटौंडा उपमहानगरपालिकामा यसअघि पनि कर्मचारीबाट विद्युतको दुरुपयोग भएको भन्दै मेयर हरिबहादुर महतले लिखित रुपमा दुरुपयोग नगर्न निर्देशन दिएका थिए।

काम सकिएपछि विद्युतीय सामग्री बन्द गरेर महसुल कम गर्न महतले लिखित निर्देशन दिए पनि कर्मचारीहरूले अटेर गरेका थिए। करिब एक वर्षअघि मेयर महतले दिएको निर्देशन त्यतिबेलै नमानेका कर्मचारीहरूले यसवर्ष फेरि विद्युत् दुरुपयोग कार्यलाई दोहोर्‍याएका छन्। हेटौंडा उपमहानगरपालिकाले गएको एक वर्षमा दुई लाख ८२ हजार ८ सय ८ रुपैयाँ ८५ पैसा मात्रै विद्युत् महसुल तिरेको छ।

यस्तै हेटौंडामा रहेको भूमि व्यवस्था तथा कृषि तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि विद्युतको दुरुपयोग भएको पाइएको छ।

एक दिनअघि सामाजिक विकास मन्त्रालयको शिक्षा र स्वास्थ्य महाशाखाको खाली कोठामा करिब दिनभरि नै बत्ती र पंखा चल्यो। कर्मचारी कोही पनि नभएको सो शाखाको कार्यकक्षमा अनावश्यक रुपमा विद्युत खपत भएको हो।

गएको जेठ एक महिनामा मात्रै दुई लाख रुपैयाँ विद्युत् महसुल बुझाएको सामाजिक विकास मन्त्रालयले गत एक वर्षमा पाँच लाख ५१ हजार ९ सय ४३ रुपैयाँ  ६४ पैसा महसुल बुझाएको विद्युत् प्राधिकरण हेटौंडाका आर्थिक शाखा प्रमुख मणिराम पौडेलले जानकारी दिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सूचना अधिकारी विष्णु प्रसाद सापकोटासहित अन्य केही कार्यकक्षमा बुधबार दिनभरिजस्तै खाली कोठामा विद्युत् खपत भयो।

कार्यालयमा केहीबेर उपस्थित भएर बत्ती र पंखा खोलेका सूचना अधिकारी काठमाडाैं प्रस्थान गरे। उनको कार्यकक्षमा उनी नभए पनि दिनभरि खाली कोठामा बत्ती र पंखा भने चलिरह्यो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वार्षिक रुपमा पाँच लाख १३ हजार सातसय २४ रुपैयाँ विद्युत महसुल बुझाउने गरेको प्राधिकरणका आर्थिक शाखा प्रमुख पौडेलले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.