‘राम्रो काम गर्नु पाप रहेछ, सात दिनको मिहिनेतमा महानगरको कुदृष्टि लाग्यो’

|

काठमाडौं : काठमाडौं महानगरपालिकाले गत सोमबार अनामनगर पूर्वीगेट अगाडि रहेको सार्वजनिक जग्गामा निःशुल्क खाना खुवाउँदै आएको ‘हाम्रो टिम नेपाल’को खाना पकाउन बनाएको टहरा भत्काइदियो। त्यति मात्रै होइन सार्वजनिक जग्गा कब्जा गरेको आरोपमा प्रहरीले टिम नेपालका अध्यक्ष विमल पन्तसहित १८ भन्दा बढी अभियन्ताहरूलाई पक्राउ गर्‍याे। 

महानगरपालिकाले टहरा भत्काएपछि मजदुरी र गरिबीको भोको पेटमाथि लात हानेको भन्दै सर्वसाधारणले सामाजिक सञ्जाललगायत माध्यामबाट चर्को आलोचना र विरोध गरे। 

टिम नेपालले गत वर्षको लकडाउनदेखि समस्यामा परेका भोकाहरूलाई निःशुल्क खाना खुवाउँदै आएको छ। तर, काठमाडौंको नगरप्रहरी प्रमुख धनपति सापकोटा सार्वजनिक जग्गा अतिक्रमण गरेकाले जग्गा खाली गरिएको बताउँछन्। ‘त्यो खाली जग्गामा पार्क बनाउने महानगरपालिकाको योजना थियो, तर बनाएको टहरा पटक-पटक हटाउन अनुरोध गरे पनि नमानेकाले भत्काएका हौँ,’उनले भने। 

‘जघन्य अपराध शैलीले दमन गरियो’

नगरप्रहरी सापकाेटाको भनाइमा अभियन्ताहरू कत्ति पनि सहमत छैनन्। टिम नेपालका अध्यक्ष पन्त भन्छन्, ‘हामीले अप्ठ्यारोमा परेका नागरिकलाई सेवा दिँदै गर्दा महानगरपालिकाले अमानवीय हिसाबले सबै खाना बनाउने सामग्री, राहतको सामग्री लुटेर लग्यो, सामग्री राखिएको ठाउँ डोजर लगाएर भत्काइदियो,जघन्य अपराध शैलीले दमन गरेको छ।’

खाना पकाउने सामग्री नभएपछि मजदरहरूलाई चिउरा र आँप खुवाउन पनि बाध्य भएको उनी बताउँछन्। ‘विपत्तिमा सरकार र हामी दुवै पुगेका हुन्छौँ, उद्देश्य एउटै हुन्छ, तर फरक के भइदियो भने विभिन्न वैमनस्यता हिसाबले रणनीति ढंगले अमानवीय व्यवहार गरियो,’ उनले भने।

महानगरपालिकाले बुधबार रत्नपार्ककाे आकाशे पुलको भित्तामा कोरिएको एक भित्ते चित्र पनि मेटायाे। जुन भित्ते चित्रमा दुजाङ शेर्पाको डिजाइनमा कोभिड-१९ बिरुद्ध अग्रपंक्तिमा खटिएका व्यक्तिको सम्मानका लागि केही साता अघिमात्र चित्रकार साङ्गे थिङ लामा, सुमिना श्रेष्ठ, कृपा शेर्पालगायतले कोरेका थिए।

त्यहाँ डाक्टर,नर्स, पत्रकार, प्रहरी, शसस्त्र प्रहरी लगायतको तस्बिर थियो। उनीहरूले आफ्नै लाखौँ खर्चमा ७ दिन लगाएर चित्र कोरेका थिए। ती चित्र धेरैले रुचाएका थिए। प्रशंसा गरेका थिए। तर ती उनीहरूको मिहिनेत केही मिनेटमै मेटियो। 

महानगरपालिकाको यो कामप्रति सर्वसाधारणले स्वागतयोग्य ठानेका छैनन्। आलोचना गरेका छन्। विरोध जनाएका छन्। 

डिजाइनर शेर्पालाई फेसबुकमा ट्याग गर्दै दीपक ओझाले लेखेका छन्- ‘थुक्क नालायक मेयर, कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा रहेर काम गर्ने राष्ट्रसेवकहरूको सम्मानमा कोरिएको चित्र महानगरले एकाएक मेट्नु खेदजनक र राष्ट्र सेवकप्रतिको अपमान हो, आउनुहोस् यसको खुलेर विरोध गरौं।’

‘हाम्रो कलामाथि महानगरको कुदृष्टि लाग्यो’

महानगरपालिकाले भित्तेचित्र मेटाएपछि चित्रकारहरू यतिखेर धेरै दुखित भएका छन्। केही पनि जानकारी नगराई चित्र मेटाएर कलामाथि महानगरपालिकाले अपमान गरेको  भित्तेचित्र डिजाइनर शेर्पा बताउँछन्।

उनले भने, ‘हामीले यो विषम परिस्थितिमा खटिनेहरूको उच्च सम्मानका लागि चित्र कोरेका थियौँ, तर गलत गरेका रहेछौँ, सात दिनको हाम्रो मिहिनेतमा महानगरपालिकाको कुदृष्टि लाग्यो।’ 

महानगरपालिका वडा–२८ का अध्यक्ष भाइराम खड्गीको लिखित हस्ताक्षर सहितको स्वीकृतिमा चित्र कोरे पनि वडा कार्यालयले चित्र बनाउने अनुमति दिन नपाउने भन्दै मेयर विद्यासुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको निर्देशनमा चित्र मेटाइएको शेर्पाले बताए। 

‘चित्र बनाउँदै गर्दा प्रमुख प्रशासकीय अधिकृत ज्ञवाली आएर हेर्नुभएको थियो, उहाँले राम्रो छ भन्नुभएको थियो,’उनले भने, ‘बनाउन मिल्दैन भनेर केही भन्नुभएको पनि थिएन, अचानक हिजो मेटियो, यो चित्र कोरेर पाप गरेका रहेछौँ, हामीलाई यो कदापि सहने छैनौँ।’ महानगरपालिकाले चित्र मेटाएपछि बिहीबार वडा कार्यालयमा ज्ञापनपत्र बुझाएको उनले जानकारी दिए।

किन मेटाइयो भित्ते चित्र ?

महानगरपालिकाका नगरप्रमुख सापकोटाले भित्तामा पर्चा,पम्प्लेट, चित्र कोर्न नपाइने भएकाले चित्र मेटेको तर्क गर्छन्। भने, ‘महानगरपालिकाले २०५८ सालदेखि भित्तामा चित्र कोर्न, चुनावको प्रचारप्रसारका लागि लेख्न, पर्चा टाँस्न प्रतिबन्ध लगाएको छ, तर महानगरपालिकालाई जानकारी नगराई चित्र कोरिएको रहेछ, त्यसैले मेटायो।’

त्यस्ता भित्तामा महानगरपालिकाले नेपालको धार्मिक र संस्कृति झल्किने खालका वस्तुहरूको चित्र बनाउन सक्ने तर, यी फ्रन्टलाइनरको चित्र कोर्ने अभ्यास महानगरमा नरहेको उनको भनाइ छ। 

उनको कुरालाई आधार मान्ने हो भने महानगरपालिकाभित्र धेरै मापदण्डविपरीत यात्रु प्रतीक्षालय छन्। प्रतीक्षालय निर्माणसम्बन्धी मापदण्ड २०७३ मा बन्ने संरचना अपांगमैत्री तथा लैंगिकमैत्री हुनपर्ने उल्लेख छ।

तर सुन्धारा, रत्नपार्क, भृकुटीमण्डपलगायत क्षेत्रमा रहेको यात्रु प्रतीक्षालयमा ठूला विज्ञापनहरू राखिएकाले विज्ञापनबाहेक यात्रु बस्ने ठाउँ नै छैन। यी संरचना पनि हटाउनुपर्ने हो। तर, यसप्रति महानगरपालिकाको कुनै चासो देखिन्न। यस विषयमा थप कुरा बुझ्न महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोललाई पटक-पटक फोन गर्दा पनि उनले उठाएनन्। 

वडाध्यक्ष खड्गी भन्छन् : यो राजनीतिक खेल भयो

नगरप्रहरी प्रमुख सापकोटाले वडासँग त्यस्ता कार्यका लागि स्वीकृति दिन नमिल्ने बताउँछन्। तर वडा कार्यालयका अध्यक्ष खड्गीले आफ्नो क्षेत्रभित्र अनुमति दिने अधिकार रहेको बताउँछन्।

‘महानगरपालिका भनेको वडा पनि त हो नि, स्वीकृति दिन हामीले नि मिल्छ, अधिकार छ, त्यसैले मैले अनुमति दिएको हुँ,’ उनले भने। भित्तेचित्र हटाएको विषयमा प्रमुख शाक्यसँग कुरा उठाउने उनले बताए।

उनले थपे, ‘सम्मानका लागि चित्र राम्रो बनेको थियो, यसको चर्चा पनि भइरहेको थियो, यसरी नमेटाउनुपर्ने थियो। बरु चित्र बन्दै गर्दा नै मलाई किन अनुमति दिएको भनी स्पष्टीकरण सोधिनुपर्ने थियो, तर सोधिएन। यो सबै राजनीतिक खेल हो, म आवाज उठाउँछु।’ 

महानगरपालिका यी तीन दिन भित्रका दुई घटनाले आलोचना भएको एक उदाहरण मात्रै हुन। कहीँ सम्पदा मासेको त कहिले फुटपाथको तरकारी ठेला जफत गरेको भनी समय-समयमा महानगरपालिका विवादमा तानिँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.