|

हेटौंडा : सिन्धुपाल्चोकको ४ सय ९४ घर बाढी पहिरोको उच्च जोखिममा रहेका छन्। 

बिहीबार हेटौंडामा बसेको बागमती प्रदेशको संसद बैठकमा प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री केशव पाण्डेले सिन्धुपाल्चोकको ४ वटा स्थानीय तहको ४ सय ९४ घर विपद्को जोखिममा रहेको बताएका हुन्।

पाण्डेले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको तीनसय ५०, हेलम्बु गाउँपालिकाको एक सय २०, मेलम्ची नगरपालिकाको २० र पाँचपोखरी थाङपाल गाउँपालिकाका ४ वटा घर अझै पनि बाढी पहिरोको उच्च जोखिममा रहेको जानकारी दिएका छन्। 

गएको असार १ गतेदेखि परेको वर्षासँगै आएको बाढीले सिन्धुपाल्चोकको दुई सय ९३ घरपरिवार विस्थापित भएका पनि पाण्डेले बताएका छन्। उनका अनुसार बाढीले हेलम्बु गाउँपालिकाको दुई सय ४, पाँचपोखरी थाङपाल गाउँपालिकाको ६५ र मेलम्ची नगरपालिकाको २४ घरपरिवार विस्थापित भएका छन्।

त्यस्तै पाण्डेले सिन्धुपाल्चोकमा आएको बाढीमा परेर दुई जना चिनिया, दुई जना भारतीय र एक जना नेपाली नागरिकसहित ५ जनाको मृत्यु भएको समेत संसदलाई जानकारी गराएका थिए। हालसम्म बाढी पहिरोमा परेका २० जना सम्पर्कविहीन भएका उनले त्यस क्रममा बताए।

यसैगरी पाण्डेले चितवनको राप्ती नगरपालिकामा पहिरोले दुई जनाको मृत्यु भएको र तीन जना बेपत्ता भएको पनि संसदलाई जानकारी गराएका छन्।

सिन्धुली जिल्लाको कमलामाई नगरपालिकामा एक जनाको मृत्यु र पहिरोमा परेर एक जना बेपत्ता भएका पनि पाण्डेले बताए। काभ्रेको पनौतीमा जमिन १५ देखि २० मिटर भासिएको र भासिएर रोसी खोलामा पुग्ने खतरा रहेको बताए।

भासिएर खोला खोलामा पुगे खोला बढेर सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुको जस्तै अवस्था आउन सक्ने उनले चेतावनी पनि दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.