|

झापा : लगातारको अविरल वर्षाका कारण झापाको जनजीवन अस्तव्यस्त बनेको छ। बिहीबारदेखि परेको अविरल वर्षाले नदी तथा खोलामा पानीको बहाव बढ्दै गएपछि जिल्लामा डुबान र कटानको जोखिम बढेको छ।

पानीको बहाव बढेसँगै नदी तथा खोला आसपासका तटीय क्षेत्रका बासिन्दा उच्च जोखिममा रहेकाले सतर्कता अपनाउन जिल्ला विपद् व्यवस्थापन समितिले जिल्लावासीलाई आग्रह गरेको छ।

झापा गाउँपालिका-५ स्थित खयरबारीमा बिरिङ नदीले बाँध फुटाउँदा पानीको धार परिवर्तन भएको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका एसपी रमेशकुमार पाण्डेले जानकारी दिए। नदीले धार परिवर्तन गर्दा त्यस आसपासका २० घर डुबान पर्ने सम्भावना बढेको छ। साथै‚ आसपासका गाउँ समेत उच्च जोखिममा रहेको एसपी पाण्डेले जानकारी दिए।

‘कोरोना नियन्त्रण तथा रोकथामका लागि जिल्लामा राखिएको फरवार्ड पोस्ट र ड्युटी पोस्टहरू पनि डुबानको जोखिममा छ,’ उनले भने, ‘बर्खाले गर्दा सीमा क्षेत्रमा तैनाथ सशस्त्र प्रहरीहरू थप पीडा र समस्या छ।’ डुबानमा परेका झापा गाउँपालिका-५ स्थित पन्थपाडाको फरवार्ड पोस्ट आजै हटाइने उनले बताए।

मेची नदी आसपास रहेको सीमा पिलर बगाउने खतरा बढ्नुका साथै अधिकांश पिलर डुबेको उनले बताए। त्यस्तै‚ कनकाई नदीमा आएको बाढीले शिवसताक्षी नगरपालिका-५ मा जनताको तटबन्धको बाँध कटान सुरु गरेको। बाँध भत्कियो भने नगरको रिङ रोड, दुईवटा सामुदायिक विद्यालय, दुईवटा मन्दिर र ४८ वटा घर उच्च जोखिममा रहेको शिवसताक्षी-५ नम्बर  वडाध्यक्ष सत्यनारायण राजवंशीले जानकारी दिए। त्यस्तै‚ गौरीगन्ज गाउँपालिकाको आमडागीमा १५ घर डुबानको जोखिममा रहेको छ।

कमल गाउँपालिका-७ स्थित झर्काबाट रतुवा नदीको पानी गौरादह नगरपालिका-५ स्थित बालुबथानतर्फ पस्ने अवस्थामा रहेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए।

दक्षिणी झापाको कचनकवल, बाह्रदशी, गौरीगंज र झापा गाउँपालिका बाढीको उच्च जोखिम छ। बाढीबाट हुने क्षति कम गर्नलाई उद्धार र राहतको टोली तयारी अवस्थामा रहेको सभापति ढकालले बताए। सभापति ढकालले भने‚ ‘अहिलेसम्म जिल्लामा बाढीले मानवीय क्षति पुर्‍याएको छैन, कसैको घर क्षति पुर्‍याएर विस्थापित पनि गरेको छैन।’

चन्द्रगढी विमानस्थलमा रहेको वर्षा मापन केन्द्रको रिपोर्ट हेर्दा पछिल्लो २४ घण्टामा ११६ दशमलब ६ मिलिलिटर वर्षा मापन गरिएको छ। साथै‚ जल तथा मौसम विज्ञान विभागले इलाम, झापा, मोरङका अधिकांश स्थानमा अहिले भीषण वर्षा भइरहेको र थप वर्षाको सम्भावना रहेकाले मेची, कनकाई‚ बिरिङ, निन्दा, चिसाङ, मावा‚ रतुवा, लोहन्द्रा, बक्राहा, नुन खोलाको तटीय क्षेत्रमा सतर्कता अपनाउन मोबाइलमा एसएमएस पठाएर आग्रह गरिसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.