|

हेटौंडा :  बागमती प्रदेश सरकारलाई संसदबाट बजेट पास गर्न सकस पर्ने देखिएको छ। 

 असन्तुलित रुपमा गुटगत बजेट ल्याएको भन्दै सत्तापक्षले नै विरोध गरेपछि प्रदेश सरकारलाई संसदबाट बजेट पास गर्न सकस पर्ने देखिएको हो।  बजेटप्रति असन्तुष्टि जनाउदै प्रदेशको विपक्षी दलहरुले एकमत भएर शनिबारको बैठक अवरुद्ध गरेका छन् भने बजेट सच्याएर नल्याएसम्म संसद चल्न नदिने चेतावनी समेत दिएका छन्। 

प्रतिपक्षीको अवरोध  पछि  स्थगित भएको संसद  बैठक आज बिहान ११ बजे  बस्दैछ। संसदमै सत्तापक्षबाट बजेटप्रति असन्तुष्टिको आक्रोश खेपेका मुख्यमन्त्री डोरमणि पौडेलले आज बिहानको लागि बोलाएको एमाले संसदीय दलको बैठक स्थगन गरेका छन्। 
ओली पक्षको सांसदलाई मात्रै बजेट दिएर गुटगत बजेट ल्याएको भन्दै संसदीय दलको बैठकमा पनि माधव पक्षको सांसदहरुले सरकारको आलोचना गरेपछि शुक्रबारदेखिको जारी बैठक स्थगन गरिएको हो। 

कार्य व्यस्ततालाई कारण देखाउँदै संसदीय दलको बैठक स्थगन गरेका मुख्यमन्त्रीले बजेट तथा नीति कार्यक्रमको सुझाव दिन गठित कार्यदलको बैठक बोलाएका छन्। 
मुख्यमन्त्रीले सरकारले एकलौटी ढंगले गुटगत नीति तथा कार्यक्रम र बजेट ल्याएको भन्दै माधव नेपाल पक्षले असन्तुष्टि जनाएपछि गठन भएको कार्यदलको बैठक बोलाएका हुन्

सन्तुलित बजेट नआए पास गर्न सक्दैनौ : माधव पक्ष

माधव नेपाल पक्षको सांसद राजेन्द्र पाण्डेले मुख्यमन्त्री डोरमणि पौडेलले आफू पक्षीय सांसदलाई बोलाएरै बजेट बाँडेको आरोप लगाएका छन्। उनले सरकार सबैको नभएर ओली पक्षको मात्रै बनेको भन्दै प्रतिपक्षी दल र सत्तापक्षकै माधव नेपाल समूहलाई मुख्यमन्त्रीले निल बनाएको बताए। 

उनले मुख्यमन्त्रीले आफुहरुलाई झुक्याएर नीति तथा कार्यक्रम पास गरेको भन्दै सन्तुलित बजेट नल्याएसम्म सहयोग गर्न नसक्ने बताए। थाहाखबरसँग कुरा गर्दै पाण्डेले भने ‘बजेट बनाउँदा डोरमणिले हामीलाई यति धेरै ठगेको छ यति बेवकुफ बनाएको छ कि के भन्नु। अब यसलाई सच्याएर सन्तुलित नबनाई हामी सहयोग गर्न सक्दैनौ। बजेट सच्याएर आएन भने कसरी पास गर्छन् हेरौँला।’ 

उनले बजेट सन्तुलित बनाउने भनेर दुवै पक्षलाई समेटेर कार्यदल बनाएको भए पनि केहि काम नगरेको बताए। पहिला जानी जानी असन्तुलित बजेट ल्याएर सुझाव दिन कार्यदल गठन गरेको तर काम भने नगरेको भन्दै उनले आक्रोश पोखे। उनले सरकारले गत वर्षको भन्दा पनि गुटगत र असन्तुलित बजेट ल्याएको बताए। ‘बजेट ल्याएको १७ दिनपछि संसद चले पनि हाम्रो मागप्रति लचक बनेन। हाम्रो पक्षको २० जना बजेटविरुद्व उत्रियौँ भने अनि  बजेट कसरी पास हुन्छ? ’ उनले प्रश्न गरे। 

माग सम्बोधन नभएसम्म सदन चल्न दिँदैनौ : प्रतिपक्षी दल

 प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीको संसदीय दलको नेता शालिकराम जम्कट्टेलले आफूहरुले राखेको  न्यायोचित माग पूरा नगरेसम्म सदन चल्न नदिने बताए। जम्कट्टेलले प्रतिपक्षी दलहरुले सरकार र जनताको हितमा हुने माग गरेको भन्दै त्यसलाई पूरा  नगरेसम्म संसद  अवरुद्ध  हुने चेतावनी दिए। 
उनले  छलफलको लागि सरकार पक्षबाट कुनै पहल नभएको भन्दै आजको लागि बोलाइएको बैठक अवरुद्ध  गर्ने बताए। 

 ‘स्थानीय तहको अधिकारको सशर्त अनुदान पार्टी र गुटगत रुपमा वितरण भएको छ। यसलाई तत्काल सच्याउनुपर्छ। सरकारले सञ्चारगृह सञ्चालन गर्ने, सुरुङमार्ग निर्माण गर्ने र  विद्युतीय बस खरिद गर्ने कार्यक्रमलाई पनि  हटाउँदैन भने हामी सदनलाई अगाडि बढ्न दिदैनौँ।’ उनले भने। जम्कट्टेलले लोकतन्त्रमा सरकारले आफू नियन्त्रित मिडिया चलाउन नपाउने बताए। त्यस्तै गरि विवादित बन्दै आएको सुरुङमार्ग र विद्युतीय  बस खरिदलाई  पनि तत्काल हटाउनुपर्ने उनको भनाइ छ। ‘दुई अर्ब ४ करोडको  योजनाभएको किताबलाई  मन्त्रिस्तरबाट पास नगरि विधेयक बनाएर ल्याउने? त्यो  अर्थले स्वीकृत  गरेन भने के हुन्छ? जे मन लाग्यो त्यहि गर्ने? यसले  संसदको अवहेलना गरेको छ ।  तत्काल सच्याइयोस्।’ उनले थपे। 

जम्कट्टेलले माओवादी, कांग्रेस र  विवेकशील एकवद्व बनेको भन्दै माग पुरा नगरे बजेट पास  नहुने  बताए।  नेपाली कांग्रेसको संसदीय दलको नेता इन्द्रबहादुर बानियाँले आफुहरुले माग गरेको  कुरा  पुरा नगरेसम्म कुनैपनि हालतमा संसद चल्न नदिने बताएका छन्।

उनले सरकारले मन्त्रिस्तरबाट पारित भएर आउनुपर्ने  विधेयक एउटा मन्त्रीको मनमर्जीमा संसदमा  ल्याएर  संविधानको उलंघन भएको भन्दै आक्रोश पोखे। बानियाँले विधि र प्रक्रियाअनुसार विधेयक ल्याउनुपर्ने, सञ्चारगृह सञ्चालनको निर्णय तत्काल फिर्ता गर्नुपर्ने  र आवश्यकता अनुसार सन्तुलित ढंगले बजेट विनियोजन नगरेसम्म संसद अवरुद्ध  रहने बताए। उनले जनता सक्षम नहुदाँ मात्रै  सरकारले सञ्चारगृह सञ्चालन गर्ने भन्दै अहिले जनता आफै सक्षम भएको अवस्थामा  मिडिया सञ्चालन गर्न नहुने बताए। 

विवेकशील साझा पार्टीका रमेश पौड्यालले आफूहरुले राखेको मागमा सरकारको धारणा आउनु पर्ने  बताए। पौडेलले सरकारले आफ्नो  गल्ती महशुस गरेर सम्बोधन गर्नुपर्ने  बताएका छन्।

प्रतिपक्षमा इमान्दारीता देखिएन : मुख्य सचेतक निरौला

नेकपा एमालेको मुख्य सचेतक दीपक निरौलाले प्रतिपक्षी दलमा इमान्दारीता नदेखिएको बताएका छन्।  उनले  दुई दिन अघि मात्रै सरकारले  छलफल  गरेर सहमती अनुसार ल्याएको  योजनाको विरोध गरेर आफ्नो इमानदारितामाथि प्रश्न उठाएको बताए। 

‘दुईदिन अघिको छलफलमा इन्द्र बानियाँ  १० लाख माग्ने, शालिकराम १० लाख माग्ने।  उनीहरुकै  मागलाई समेटेर बजेट ल्याउँदा विरोध गर्ने?’ निरौलाले भने । उनले  संसदको  अवरोध नहटाएसम्म सरकारले  प्रतिपक्षी दलसँग  वार्ता  नगर्ने पनि दाबी गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.