|

काठमाडौं : काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले सडक निर्माणको काम वर्षौंसम्म  अलपत्र पार्ने ठेकदार कम्पनीलाई स्पष्टीकरण मागेको छ। मंगलवार एक सूचना जारी गर्दै  जोरपाटी–साँखु र नख्खुखोला–भैंसेपाटी–बुङ्मती सडकका निर्माण व्यवसायीसँग स्पष्टीकरण मागेको हो। 

चाबहिल–जोरपाटी–साँखु सडकको जिम्मा लिएको बज्रगुरु–च्याङ्गमिला खानी जेभी र बज्र गुरु बिरुवा खानी जेभी तथा नख्खुखोला–भैंसेपाटी–बुङ्मती सडकको जिम्मा लिएको आशिष–बिरुवा–सीएम जेभीसँग आयोजनाले स्पष्टीकरण सोधेको हो । ती निर्माण व्यवसायीहरुलाई सात दिनभित्र स्पष्टीकरण दिन समय सीमा दिइएको आयोजना प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिए। 

ठेक्का तोड्नु नपर्ने भए सात दिनभित्र कार्य सम्पन्न गर्न सक्ने आधारसहित संशोधित कार्यतालिका एवं ठेक्‍कासँग सम्बन्धित कार्य सम्पादन जमानत, बिमा तथा अग्रिम भुक्तानी जमानतलगायतका कागजातसहित उपस्थित हुन  भनिएको छ। तोकिएको समयभत्रि काम सम्पन्न गर्न नसक्ने भए ठेक्का तोडेर कालोसूचीमा राख्न सिफारिस गर्ने, जमानत जफत गर्ने र सरकारी बाँकी सरह असुल उपर गर्ने चेतावनी समेत आयोजनाले दिएको छ। 

थपिएको सम्झौता अवधिभित्र निर्माण कार्य उपलब्ध चौडाइमा समेत सम्पन्न नगरेको, कार्य सम्पन्न गर्नका लागि पटकपटक मौखिक, टेलिफोन तथा पत्राचार गर्दा पनि सम्पर्कमा नआएकाले ठेक्का किन नतोड्ने भनेर सोधिएको प्रमुख अधिकारीले बताए। 

चाबहिल–जोरपाटी–साँखु सडक विस्तारका लागि बज्रगुरु–च्याङ्गमिला खानी जेभीसँग आयोजनाले २०७२ असोज १३ गते सम्झौता गरेको थियो। उक्त सम्झौताअनुसार कार्य सम्पन्न गर्ने म्याद २०७७ पुस २९ गते सकिएको थियो । चाबहिल–जोरपाटी–साँखु सडकमै कामको जिम्मा पाएको बज्र गुरु बिरुवा खानी जेभीसँग पनि सोही मितिमा भएको सम्झौताको म्याद २०७७ पुस २५ गते सकिएको छ।

यसैगरी नख्खुखोला–भैंसेपाटी–बुङ्मती सडकका लागि आशिष–बिरुवा–सीएम जेभीसँग २०७३ असार ३० गते सम्झौता भएको थियो। सम्झौताअनुसार निर्माण कार्य सम्पन्न गर्नुपर्ने मिति २०७७ जेठ २२ मा गुज्रिसकेको छ। काम समयमा नसक्दा ती सडकमा यात्रा गर्नेहरुले सास्ती व्यहोर्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.