|

काठमाडौं : नेपाल भारत रेलसेवा सम्बन्धी सम्झौता संसोधन हुने भएको छ। यो सँगै नेपालले १२ वर्ष अघिदेखि राख्दै आएको माग पुरा भएको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार रेलसेवा सम्झौता संसोधनको लागि नेपाल र भारतबीच शुक्रबार लेटर अफ एक्सचेन्ज (एल ओ ई) सम्पन्न भएको छ।  सन् २००४ मा भएको नेपाल भारत रेलसेवा सम्झौंता संसोधनका लागि नेपालले २००९ देखि माग राख्दै आएको थियो।

अब नेपाल लक्षित पारवहन कार्गो ढुवानीका लागि नेपाल रेलवे कम्पनीको स्वामित्वमा रहने रेल तथा वागनले वीरगञ्ज र विराटनगरदेखि कोलकता, हल्दियासम्म रेलसेवा दिन सक्नेछ।

यस्तै भारतमा रेलसेवा उपलब्ध गराइरहेका अनुमतिप्राप्त सवै कार्गो रेल अपरेटरहरुले नेपालको पारवहनका लागि हुने ढुवानीका सेवा दिन सक्नेछन्। यसअघि सम्झौतामा भारतीय कन्टेनर निगम लिमिटेडका रेलले मात्रै ढुवानी सेवा दिने उल्लेख गरिएको थियो।

साथै कोलकोताको हल्दिया पोर्टबाट वीरगञ्जसम्म मात्रै रेल ढुवानी सेवा हुने बताइएको थियो। आज भएको लेटर अफ एक्सचेञ्जमा हाल वीरगञ्जसम्म रेलसेवा उपलब्ध भएकोमा विराटनगर, भैरहवा र इनरुवामा रेल पूर्वाधार तयार भएपछि रेलसेवा उपलब्ध गराउन समेत माग गरिएको छ।

मन्त्रालयले करिब १२ वर्षदेखि राख्दै आएको माग पुरा हुनु ठूलो उपलब्धिको रुपमा हेरेको छ। साविकमा नेपालमा हुने आयात निर्यातका लागि रेल सेवामा लाग्ने सेवा शुल्क अग्रिम रुपमा कोलकत्तामा तिर्नुपर्ने व्यवस्था रहेकोमा अव नेपाली बाणिज्य बैंकमार्फत सोझै भुक्तानी दिन सकिने व्यवस्था गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.