प्रदेश प्रहरीसम्बन्धी विधेयक विषयगत समितिमा पठाइयो

|

धनगढी : प्रदेशमा बढ्दै गरेका भएका अपराधका घटनालाई नजरअन्दाज गरेको सुदूरपश्चिम सरकारलाई आरोप लागेको छ। आइतबार प्रदेश सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रदेश सभा सदस्य भरतबहादुर खड्काले यस्तो आरोप लगाएका हुन्।

उनले प्रदेशमा बढ्दै गएको अपराधमा प्रदेश सरकारले गहन तरिकाले अनुसन्धान अघि बढाउन नसकेको भन्दै जनता निराश भएको बताए।

उनले भने, ‘भर्खरै डडेलधुरामा अस्मिता धामीको हत्या भएको छ। त्यस घटनामा संलग्न व्यक्तिको पहिचान पनि गर्न सकेको छैन। यस्ता दर्जनौं हत्याका घटनामा प्रदेश सरकार चुकिरहेको छ।’

उनले प्रदेशको कैलाली र कञ्चनपुरमा लागु औषध सेवनकर्ता तथा तस्करी बढी रहेको प्रति सरकारले ध्यान दिन नसकेको बताए। उनले भने, ‘सीमानाकाबाट लागु औषधको कारोबार भइरहेको छ। यसले प्रदेशलाई थप जोखिम पारिरहेको छ। यस्ता घटनाप्रति प्रदेश सरकार गम्भीर होस्।’

यस्तै नेकपा एमालेका प्रदेश सभा सदस्य हर्कबहादुर कुवरले विपद्मा ज्यान गुमाएका परिवार र घाइते भएका परिवारका पक्षमा प्रदेश सरकारले काम गर्न नसकेको बताए।

भने, ‘बाजुरा, अछाममा तटबन्धका लागि बजेट गए पनि अन्य जिल्लाका बाढी प्रभावितहरूले क्षतिपूर्ति पाउन सकेका छैनन्।’

प्रदेश प्रहरीसम्बन्धी विधेयक विषयगत समितिमा पठाइयो

सुदूरपश्चिम प्रदेश सरकारले तयार पारेको प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफाबार छलफलका लागि विषयगत समितिमा पठाइएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले विषयगत समितिमा पठाउन प्रस्ताव पेस गरेकी थिइन्। 

आइतबारको प्रदेश सभा बैठकमा सभामुख अर्जुनबहादुर थापाले विधेयक विधायन तथा प्रदेश मामिला समितिमा दफाबार छलफलका लागि पठाइएको जानकारी दिए।

यसअघि सो विधेयकमाथि सामान्य छलफलका लागि पेस भएको थियो। सामान्य छलफलमा भाग लिँदै नेकपा एमालेका प्रदेश सभा सदस्य प्रकाश रावल, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका महेशदत्त जोशी, नेपाली कांग्रेसका प्रदेश सभा सदस्य डिल्लीराज पन्त र जनता समाजवादी पार्टीका प्रदेश सभा सदस्य कृष्ण चौधरीले भाग लिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.