|

बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ७ को चडेपानी गाउँलाई थप ७ दिनका लागि सिल गरिएको छ। एकै गाउँमा ३५ जना कोरोनाका सक्रिय संक्रमित रहेकाले आजदेखि आगामी साउन ३ गते सम्म गाउँलाई  सिल गरिएको हो।

यसअघि असार २१ गतेदेखि असार २७ गतेसम्म सो गाउँलाई सिल गरिएको थियो। गाउँमा संक्रमित संख्या नघटेकाले विपद् व्यवस्थापन समितिको बैठकले गाउँलाई सिल गर्ने निर्णय भएको दोगडाकेदार गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रयागराज पन्तले जानकारी दिए।

संक्रमणको रोकथाम र नियन्त्रणका लागि गाउँलाई थप एक हप्ता असार २८ देखि साउन ३ गतेसम्म सिल गरिएको हो। सिल भएको अवधिमा उक्त गाउँमा अत्यावश्यक कामबाहेक आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको छ। 

संक्रमण पुष्टि भएका सबै होम आइसोलेसनमा बसिरहेका गाउँपालिकाका स्वास्थ्य प्रमुख नरेन्द्र नाथले  बताए। उक्त गाउँमा बसोबास गर्नेमध्ये ८० प्रतिशत बढीको परीक्षण सम्पन्न भएको छ। उनले भने, ‘सक्रिय कुनै लक्षण देखिएका छैनन्, साउन ३ गतेसम्म सबै निको भइसक्छन्।’

जिल्लामा अहिले १२० जना सक्रिय संक्रमित छन्। सक्रिय संक्रमितमध्ये दोगडाकेदार गाउँपालिकाका मात्रै ३९ जना रहेका स्वास्थ्य कार्यालयले जनाएको छ। कोरोनाकै कारण बैतडीमा १८ जनाको मृत्यु भइसकेको छ।

भारतसँग सीमा जोडिएको बैतडीमा असार ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ। जिल्लामा असार १६ पछि निषेधाज्ञा खुकुलो गरिएको छ। निषेधाज्ञा खुकुला गरिएसँगै संक्रमण पनि बढ्दै गएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.