फैसलाविरुद्ध सडकमा युवासंघ, ठाउँठाउँमा प्रधानन्यायाको पुत्ला जलाए

|

काठमाडाैं : प्रतिनिधिसभा पुनर्स्थापनासँगै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेपछि नेकपा एमालेका कार्यकर्ताहरू विरोधमा उत्रिएका छन्।

पार्टीले अदालतको फैसला मान्ने बताए पनि कार्यकर्ताहरू भने उक्त फैसलाको विरोधमा सडकमा उत्रिएका छन्। एमालेका कार्यकर्ताहरूले सर्वोच्चको फैसला नमान्ने भन्दै प्रधानन्यायाधीशविरुद्ध प्रदर्शन गर्दै पुत्लासमेत जलाएका छन्।

युवा संघका पूर्वअध्यक्ष महेश बस्नेतको आह्वानमा कार्यकर्ताले काठमाडौंको माइतीघर मण्डलादेखि बानेश्वरसम्म फैसलाविरुद्ध नाराबाजी गरेका हुन्। त्यसपछि उनीहरूले माइतीघरमा कोणसभा गरेका थिए।

कोणसभालाई नेता बस्नेत लगायतले सम्बोधन गरेका थिए। कोणसभालाई सम्बोधन गर्दै एमालेका युवा नेतासमेत रहेका बस्नेतले सर्वोच्चको फैसला सेटिङमा आएको टिप्पणी गरे।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई राजनीतिमा आउन चुनौतीसमेत बस्नेतले दिए। बस्नेतले प्रधानन्यायाधीश जबरामा जहानियाँ शैली देखिएको टिप्पणी गर्दै यो शासन अब सकिएको उल्लेख गरे।

यस्तै युवासंघले बुटवलमा पनि फैसलाविरुद्ध प्रदर्शन गरेको छ। ‘गैरसंवैधानिक परमादेश खारेज गर’ लेखिएको ब्यानर देखाउँदै उनीहरूले प्रदर्शन गरेका थिए। त्यसअघि एमाले नेताहरूले अदालतको आदेश मान्नुको विकल्प नभएको बताएका थिए।

एमाले प्रवक्ता प्रदीप ज्ञवालीले, ‘अदालतको फैसलाले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको शक्ति सन्तुलन खल्बल्याएको बताए पनि निर्णय मान्य हुने बताएका थिए। 

थाहासञ्चार नेटवर्कसँग कुरा गर्दै प्रवक्ता ज्ञवालीले अदालतको निर्णयबारे अब कसरी अघि बढ्ने भन्नेबारे पार्टीमा गम्भीर छलफल गरेर धारणा सार्वजनिक गर्ने बताएका थिए।

यस्तै संविधानसभा अध्यक्षसमेत रहेका एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सर्वोच्च अदालतको फैसलाबाट आफू स्तब्ध भएको बताए। अदालतको फैसला मानेर जानुको विकल्प नभएको पनि उनको भनाइ थियो। सर्वोच्चको फैसलाबाट संविधान, कानुन, स्थापित अभ्यास र संसदीय प्रणाली लगायतमा थुप्रै गम्भीर प्रश्नहरू उठ्न पुगेको उनले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.