|

जाजरकोट : जाजरकोट राष्ट्रिय गौरवमा सूचीकृत मध्यपहाडी (पुष्पलाल) लोकमार्ग अन्तर्गत जाजरकोट खण्डमा काम शुरू भएलगत्तै स्थानीयले अवरोध गरेका छन्। 

जाजरकोटमा गरिएको कालोपत्रे गुणस्तर राम्रो नभएको भन्दै स्थानीयवासीहरूले प्रमुख जिल्ला अधिकारी, डीएसपी र लोकमार्गका कर्मचारीमा समेत ध्यानाकर्षण गराएका छन्।

पहिलो खण्डमा अहिले कुदुदेखि कार्कीगाउँसम्म ३५ किलोमिटर सडक कालोपत्रे गर्न थालिएको छ। स्थानीयवासी युवा दिनेश गौतमले ठेकेदारलाई राम्रोसँग काम गर्न आग्रह गर्दा उल्टै धम्क्याउँदै हिँडेको आरोप लगाए। धेरै पुस्तासम्म हिँड्ने सडक भएकाले गुणस्तरमा ध्यान दिन आग्रह गर्दा ठेकेदारले भत्किएपनि त्यो आफ्नो टाउको दुखाइको विषय नभएको भन्दै धम्क्याएको उनले बताए।

गुनासो सुन्न जगतीपुर पुगेका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटा, डीएसपी मधुकुमार थापा र मध्यपहाडी लोकमार्ग प्राविधिक रविन कार्कीलाई स्थानीयवासीले यस्तो पीडा सुनाएका हुन्। पटक-पटक आग्रह गर्दा पनि माग सुनुवाइ नभएपछि प्रजिअसँग गुनासो गरेको स्थानीयवासी केशव शर्माले जानकारी दिए।

प्रजिअ देवकोटाले गुणस्तर कम भएको ठाउँमा पुन: कालोपत्रे गर्न निर्देशन दिएका छन्‌। काम भइरहेको सडकको स्थलगत अनुगमन गर्दा मध्यपहाडी लोकमार्गको कुदुदेखि जगतीपुर सम्म सडकको गुणस्तर कम रहेको पाइएको थियो।

मोडहरू नमिलाएको र सडकको किनारामा माटोले पुरेको लगाएका कामहरू भएको पाइएको थियो। प्रजिअको निर्देशनपछि निर्माण कम्पनीहरू बाँकी काम गर्न सहमत भएका छन्। गुणस्तर कायम नगरेसम्म कालोपत्रे गर्ने काम अघि बढ्न नदिने स्थानीयले बताएका छन्। 

पूर्व-पश्चिम यो लोकमार्गको लम्बाइ १ हजार ७७६ किलोमिटर रहेको छ। जसमध्ये जाजरकोटमा ८२ किलोमिटर सडक पर्छ। ८२ किलोमिटरमध्ये पहिलो चरणमा कुदुदेखि कार्कीगाउँसम्म ३५ किलोमिटर सडकमा कालोपत्रे गर्ने काम भइरहेको छ।

२ वर्ष पहिले शर्मा सिंह एण्ड ब्रदर्श कम्पनीले करिब १ अर्ब रुपैयाँ लागतमा कुदु—कार्कीगाउँ खण्ड स्तरोन्नति र कालोपत्रे गर्न मध्यपहाडी आयोजनासँग ठेक्का सम्झौता गरेको थियो। सम्झौता भएको २ वर्ष ६ महिना अवधिमा ८० प्रतिशत काम सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ।

सम्झौता अवधि पहिले नै काम सक्नेगरी सडक निर्माण गरेपनि अघिल्लो आर्थिक वर्ष र यो वर्षमा लगाइएको लकडाउनले समस्या सिर्जना गरेको कम्पनीको प्रमुख विश्वास उप्रेतीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.