|

काठमाडौं : सत्तापक्षका सांसद नै नआएपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित  भएको छ। बिहीबार सुरु भएको प्रदेशसभा बैठकबाट एकाएक बाहिरिएको सत्तापक्ष बैठक कक्षमा नफर्किएपछि बैठक शुक्रबार दिउसो १ बजेसम्मका लागि स्थगित गरिएको हो।

विपक्षीहरुले बजेटको छलफलमा बस्न अस्वीकार गरेपछि मुख्यमन्त्री, मन्त्रीहरु र सत्तापक्षका सबै सांसदहरुले बैठक बहिष्कार गरी बाहिरिएका थिए। सत्तापक्षका सबै सांसद बाहिरिएपछि पनि सभामुखले आधा घण्टाको लागि बैठक स्थगित गरिएको जानकारी गराएका थिए।

बजेटबारे प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नको मुख्यमन्त्री शंकर पोखरेलले जवाफ दिएलगत्तै बजेट पारित गर्न दलहरुसँग सहमतिका लागि एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालले समय माग गरेका थिए। विपक्षीहरुले छलफलमा बस्न अस्वीकार गर्दै बजेटलाई निर्णयार्थ पेश गरी प्रक्रियामा लैजान माग गर्दै आएका थिए।

स्थगित गरिएको आधा घण्टापछि पनि सत्तापक्षका सांसद बैठक कक्षमा नफर्किएपछि संसद सचिवालयले शुक्रबार दिउसो १ बजे बस्नेगरी प्रदेशसभा बैठक स्थगित गरिएको सूचना टाँस गरेको छ।

एमालेका प्रमुख सचेतक ढकालले बजेट निर्णयार्थ प्रस्तुत गर्नुभन्दा पहिले दलहरु बीचमा छलफल गर्न सभामुखसँग समय माग गरिए पनि उपलब्ध नगराएको र विपक्षी दलहरु पनि छलफलका लागि तयार नभएपछि बैठकबाट बाहिरिएको बताए।

नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खानले सत्तापक्षले नै प्रदेशसभा बैठक बहिष्कार गर्नुले बजेट फेल भएको पुष्टि हुने बताए। सरकारले प्रदेशसभामा बजेट टेबुल गरिसकेकोले यहीं प्रकृयाबाटै बजेट निर्णयार्थ पेश गर्नुपर्ने उनको भनाई थियो।

बिहीबारको बैठकमा सत्तापक्ष र विपक्षी समान ४१/४१ जना प्रदेशसभा सदस्यहरु उपस्थित थिए। प्रदेशसभामा हाल ८३ जना सांसद छन्। जसमध्ये बजेट पारित गर्न बहुमत सदस्य ४२ जनाको समर्थन आवश्यक पर्छ।

६ जना सांसद रहेको जनता समाजवादी पार्टीका चारजना सांसदलाई साथ लिएर शंकर पोखरेल दोश्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए। जसपाबाट राज्यमन्त्री बनेकी सुमन शर्मा रायमाझीले पदबाट राजीनामा दिंदै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकारको पक्षमा ४१ जना सांसद मात्रै छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.