|

जनकपुरधाम : प्रदेश २ लोकसेवा आयोग सञ्चालनमा आएपछि पहिलो पटक ठूलो संख्यामा अधिकृतस्तरका लागि विज्ञापन प्रकाशित गरिएको छ।  

प्रदेश निजामती सेवाले खुला प्रतिस्पर्धा तथा बढुवामार्फत रिक्त रहेका विभिन्न पदहरूको पदपूर्ति गर्न प्राविधिक तथा अप्राविधिक अधिकृत तहको विज्ञापन गरेको हो।

आयोगले अधिकृत सातौँ तह (प्राविधिक), अधिकृत एघारौँ र नवौँ तह (प्राविधिक र अप्राविधिक), अधिकृत सातौँ (प्राविधिक र अप्राविधिक) पदको लागि बढुवामार्फत पदपूर्ति गर्न विज्ञापन गरेको छ।

यसै गरी खुला, समावेशी र अन्तर सेवा प्रतियोगितात्मक लिखित परीक्षामार्फत पदपूर्ति गर्नका लागि अधिकृत सातौँ तह प्रशासन सेवा (अप्राविधिक), प्राविधिकतर्फ तथ्याङ्क, इन्जिनियरिङ, कृषि, वन र शिक्षा सेवाका सातौँ तहका अधिकृतको लागि विज्ञापन गरेको प्रदेश लोकसेवा आयोगले जनाएको छ।

यस्तै खुला प्रतिस्पर्धामार्फत पदपूर्ति गर्न प्राविधिकतर्फ स्वास्थ्य सेवाको अधिकृत आठौँ तह र अधिकृत सातौँ तहको लागि पनि विज्ञापन गरेको छ।

दरखास्त फारम भर्न दिने अन्तिम म्याद साउन २० गतेसम्म र दोब्बर दस्तुर तिरेर साउन २७ गतेसम्म रहेको प्रदेश लोकसेवा आयोगको विज्ञापनमा उल्लेख छ।

परीक्षाको मिति र परीक्षा केन्द्र पछि प्रकाशित गरिने पनि प्रदेश लोकसेवा आयोगको विज्ञापनमा उल्लेख गरिएको छ। विज्ञापन फारम अनलाइनमार्फत भर्न पाउने व्यवस्था गरेको प्रदेश नंं २ को लोकसेवा आयोगले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.