'एकताको जिम्मेवारी अध्यक्ष ओली र नेता नेपालको काँधमा छ'

|
फाइल फोटो

धनगढी : नेकपा एमालेको शुक्रबार स्थायी कमिटी बैठक बस्यो। बैठकबारे माधवकुमार नेपाल पक्षसमेतलाई बिहीबार नै जानकारी गराइएको थियो। तर, माधव पक्ष बैठकमा सहभागी नै भएन।

बैठक चलिरहेका बेला नेपाल समूहबाट कार्यदलमा रहेका नेताहरु पुगेका बैठक स्थलमा पुगेका थिए। एमालेका उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, भीम आचार्य र सुरेन्द्र पाण्डे स्थायी कमिटी बैठकमा पुगेका थिए। नेताहरुले बैठक स्थगित गरेर सहमति खोज्न आग्रह गरे तर त्यो सम्भव भएन।

बैठकले नेकपा एमालेले देउवा सरकारलाई विश्वासको मत नदिने निर्णय गर्यो। अध्यक्ष ओली पक्षका नेताहरुको मात्र उपस्थिति रहेको बैठकले यो निर्णय गरेको हो। यस्तै, एमालेले पार्टी मिलाउन गठन गरेको कार्यदलसमेत भंग भएको जानकारी दियो। जुन कार्यदल पार्टीको विवाद समाधान गर्न भनेर गठन गरिएको थियो।

प्रस्तुत छ, यिनै घटनाक्रम, अगामी राजनीतिक अवस्था र माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने–नदिनेबारे जिज्ञासा बढेका बेला थाहाकर्मी टेकसिह धामीले एमालेका पार्टी उपाध्यक्ष भीम रावलसँग गरेको कुराकानीको सम्पादित अंश :

एमाले स्थायी कमिटी बैठकले सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ, अब माधव समह र तपाई के गर्नुहुन्छ?

पहिलो कुरा त हामीले कार्यदलबाट जे कुरामा सहमति भएको थियो। प्रक्रियागत दृष्टिकोणबाट, सहमतिका बुँदाहरूको दृष्टिकोणबाट जसरी सहमति भएको थियो। तदनुकूल नै सहमति गरेर अगाडि मिलेर जाऊँ भनेर हामीले स्थायी कमिटी बैठकमा भाग नलिए पनि हामी बैठक रोक्न र उच्चस्तरमा सहमति गर्न आग्रह गरेका थियौँ।

साथसाथै हामीले कार्यदलको  १० बुँदे सहमतिलाई कार्यन्वयन गर्नमा जोड दिएका थियौँ। यसको लागि हामीले स्थायी कमिटीका अन्य साथीहरुसँग पनि कुराकानी जारी राखेका छौँ। तर, यसको प्रमुख जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओली र हाम्रो पक्षबाट नेतृत्व गरिरहनुभएका माधवकुमार नेपालको काँधमा छ।

उहाँहरूलाई हामीले अबको राजनीतिक संकटबाट देशलाई जोगाउनको लागि पार्टीभित्रको एकता र समझदारी महत्वपूर्ण छ भनेर भनेका छौँ। हाम्रो प्रयत्न जारी रहेको छ। अब परिणाम के हुन्छ त्यो त हेर्न बाँकी नै छ।

जहाँसम्म तपाईले भन्नुभएको विश्वासको मत दिने नदिने कुरा छ हामीले यस सम्बन्धमा अहिले नै छलफल गरेका छैनौँ। सबभन्दा पहिले त हामीले जुन कार्यदलमा १० बुँदे समझदारी गरेका छौँ त्यसलाई कसरी कार्यन्वयन गर्ने, कसरी पार्टी एकता कायम गर्ने कुरामा नै जोड दिएका छौँ।

यो पार्टी एकता र सहमति कायममा हामी सफल भयौँ भने त्यसपछि हामी संसद्मा कसरी प्रस्तुत हुने र संस्थागत निर्णय के गर्ने भन्ने विषयमा सहज हुन्छ जस्तो लाग्छ। तर, अहिले नै प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने–नदिने भन्ने विषयमा कुनै छलफल भएको छैन।

स्थायी कमिटीले सरकारको विपक्षमा मतदान गर्न निर्देशन दिएको छ, यसबारे के भन्नुहुन्छ?

यति महत्वपूर्ण विषयमा अहिले छलफल नै नभई मैले केही प्रतिक्रिया दिन मिल्दैन। तर, जुन बैठकले गरेको निर्णय र निर्देशनको कुरा गर्नुभयो त्यसमा हामी सहभागी थिएनौँ। पार्टीभित्र छलफल भएको छैन। कुनै पनि निर्णय पार्टीको छलफलबाटै गर्नुपर्छ भन्ने हाम्रो पार्टीको विधान र कार्यदिशा हो। त्यसैले हामी अहिले विश्वासको मत दिने नदिनेभन्दा पनि पार्टी एकता कसरी कायम गर्ने भन्नेमा केन्द्रित छौँ।

संयुक्त सहमतिको सरकारबारे पनि चर्चा भरहेको छ, अब माधव समह सरकारमा सहभागी हुन्छ?

सरकारमा सहभागी हुने नहुने कुरा हाम्रा लागि महत्वपूर्ण कुरा होइन, हामी अहिले केवल पार्टी एकता चाहन्छौँ। सरकारमा जाने नजाने भन्ने विषयमा कुनै छलफल भएको छैन। छलफल र पार्टीको निर्णय के हुन्छ तदनकूल हामी अगाडि बढ्छौँ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.