|

कञ्चनपुर : सुदूरपश्चिम प्रदेश सरकारले कोरोनाको तेस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि रणनीतिक योजना बनाउनका लागि कार्य अगाडि बढाएको छ।

कोरोनाको तेस्रो लहर रोकथामका लागि अपनाउनुपर्ने सावधानीसँगै स्वास्थ्य संस्थाहरूको क्षमता अभिवृद्धिका लागि कार्य अगाडि बढाउन लागेको हो।

त्यसका लागि सम्बन्धित निकायसँग समन्वयात्मक बैठकको आयोजना गरी सुझाव लिने कार्य भइरहेको छ। नयाँ आर्थिक वर्ष शुरुवात भएसँगै प्रदेशको सामाजिक विकास मन्त्रालयले कोरानाको पहिलो र दोस्रो लहरमा गरिएको तयारी र सम्पादन गरिएका कार्यहरुको समीक्षा गरेको छ।

कोरोनाको संक्रमण फैलिन नदिनका लागि गरिएका क्रियाकलाप, सामना गर्नु परेका चुनौती र समस्याबारे कैलाली कञ्चनपुरका स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रमुख, स्वास्थ्य कार्यालयका प्रमुखहरूसँग बैठकको आयोजना गरी समीक्षा गरिएको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले बताए।

‘विश्व स्वास्थ्य संगठनलगायत जनस्वास्थ्य विज्ञहरूले कोरोनाको तेस्रो लहरमा बालबालिकाहरू बढी प्रभावित हुने आंकलन गरेकाले त्यसको रोकथाम र नियन्त्रणका लागि एकीकृत प्रयास थाल्नु आवश्यक छ’ मन्त्री खड्काले भने, ‘विगतका कमी कमजोरी सच्याएर र प्रभावकारी रूपमा कार्यलाई अगाडि बढाउन प्रयासरत रहनका लागि आजैदेखि तयारी थालेका छौँ।’

उनका अनुसार सीमा क्षेत्र भएर भारतबाट आउने र जानेहरूको स्वास्थ्य चेकजाँचको कार्यलाई प्रभावकारी बनाउने, स्थायी होल्डिङ सेन्टरको व्यवस्था गर्ने, स्वास्थ्य चौकीहरूमा औषधि र जनशक्तिको अभाव हुन नदिने, कोरोनाका बिरामीको उपचार हुँदै आएका अस्पतालमा बालबालिका लागि छुट्टै वार्डको व्यवस्था गर्नेलगायतका कार्यहरू अगाडि बढाइएका छन्।

प्रदेश सरकारले कोरोनाको तेस्रो लहरको सामना गर्नका लागि पूर्व-तयारीमा जुटेको मन्त्री खड्काको भनाइ रहेको छ। कोरोना महामारी नियन्त्रणका लागि एकीकृत प्रयासलाई प्रभावकारी बनाउने उद्देश्यले कार्य अगाडि बढाइएको छ। 

कोरोना महामारी नियन्त्रणका लागि अल्पकालीन तथा दीर्घकालीन कार्ययोजना बनाउनका लागि सामाजिक विकास मन्त्रालयले समीक्षा बैठकमा आएका सुझावलाई आत्मसात गर्दै योजनामा समेट्ने भएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.