|

म्याग्दी : बेलायतको प्रतिष्ठित भिक्टोरिया क्रस (भिसी) पाएका गोरखा सैनिक तुलबहादुर पुनको जन्म घरलाई संग्रहालय बनाउने तयारी सुरु भएको छ।

गोरखा सैनिक तुलबहादुर तिलिजा पुन जन्मिए र हुर्किएको घर रघुगंगा गाउँपालिका–१ बादुकमा अझै सुरक्षित छ। घरलाई संरक्षण गरेर पर्यटकीय गन्तव्य बनाउन उनका छोराबुहारी अर्जुन र शान्ती तिलिजा लागि परेका छन्।

तुलबहादुरको नाममा बेगखोलामा सडक र पुन भिसी स्मृति संस्था रहेको छ। बेगखोलाको बादुरक गाउँमा सन् १९२३ मार्चमा जन्मिएका तुलबहादुर २० वर्षको उमेरमा भर्ती भएका थिए।

उनको सन् २०११ अप्रिल २० मा ८८ वर्षको उमेरमा निधन भएको थियो। पुनको श्रीमती, बुहारी नातिनी गाउँमा बसेर बुवाले बनाएको सम्पतिको संरक्षण तथा फलफूल लगाउने काम गरिरहेका छन्। पुन जन्मिएको तीन तले घरलाई उनले प्रयोग गरेका सामानहरु, पाएका सम्मानहरुलाई संरक्षण गरेर घरलाई संग्रालयको रुपमा बनाउने तयारी भएको छोरा अर्जुन तिलिजाले बताए।

घरमा पुरानै सामानहरु समेटेर संग्रालय बनाएर संरक्षणको जिम्मा गाउँलाई दिने योजना रहेको बुहारी शान्ति तिलिजाले बताइन्। स्वर्गीय भिसी पुन अवकास पछि बादुक गाउँ फर्किएर खानेपानी, खेलमैदान, विद्यालय भवनलगायत दर्जनौं योजनामा समेत काम गरेका थिए।

गाउँमा कृष्ण आधारभूत विद्यालय र तिप्ल्याङमा कालिका आधारभूत विद्यालयको स्थापना भिसी पुनले गरेको स्थानीय पूर्णबहादुर गर्वुजाले बताए। वादुकवासीले तुलबहादुरको नाममा तिप्ल्याङदेखि बादुकसम्मको सडकलाई पुन भिसी सडकको रुपमा नामाकरण गरेका छन् भने तिप्ल्याङ–बादुक भिसी पदमार्ग बनाउने योजनामा बादुकबासी लागेका छन्।

मगर कलासस्कृति, बेगसँंग जोडिएको दोस्रो अग्लो र लामो पुल भएको यस बादुरक गाउँमा पुनको नाममा संग्रालय निर्माणले पर्यटकको गन्तव्यको विकास गरेर स्थानीयलाई लाभान्वित बनाउने योजना रहेको वडाअध्यक्ष बिलबहादुर फगामीले बताए। बेलायतमा गोरखा सैनिकहरुले हालसम्म १३ वटा भिक्टोरिया क्रस पाएका छन्।

पुनले दोस्रो विश्वयुद्वमा गरेको योगदानलाई मुल्याकंन गर्दै भिसी तुलबहादुरको सम्झनामा बेलायतमा जुन २३ बाट रेल सेवा सुरु भएको छ। बेलायतको एक रेल सेवाले त्यहाँको सर्वोच्च युद्व पदक भिक्टोरिया क्रस बिजेता स्व. तुलबहादुर पुनको सम्मान गर्दै रेल सेवा सुरु गरेको हो।

बेलायतमा चर्चाको शिखरमा रहेका भिसी जन्मथलो म्याग्दीमा भने गुमनाम रहेको छ। पुनले भिसी पाएको ७६ वर्ष पुगेको छ। भिसी पुन दोस्रो विश्वयुद्धमा भिक्टोरिया क्रस पाउँदा २१ वर्षका मात्र थिए।

उनले दोस्रो विश्वयुद्वमा बहादुरी र साहस प्रदर्शन गरेवापत सो पदक पाएका थिए। दोस्रो विश्वयुद्वमा अद्वितीय पराक्रम प्रदर्शन गरेवापत भिसी पाएका गोरखा सैनिक तुलबहादुर पुनको नाममा २०२१ जुन २३ बाट बेलायतमा रेल सेवा संचालन भएको छ।

पुनले भिक्टोरिया क्रस पाएको दिन र ७६ वर्ष पुगेको अवसरमा बेलायतको पश्चिमी क्षेत्रमा भिसी पुनको नाममा रेलवे सेवा सन्चालन गर्ने ग्रेट वेस्टर्न रेलवेलाई भिसीका परिवारले धन्यवाद दिएका छन्।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.