|

म्याग्दी : रघुगंगा गाउँपालिका–३ गलेश्वरपारिको बस्ती पहिरोको उच्च जोखिममा छ। पहिरो आएर पुरिने डरले यहाँका ३० घरपरिवार रातभरि जाग्राम बस्न बाध्य छन्।

गलेश्वर–पिप्ले–भगवती–बेगखोला सडक निर्माणमा लापरबाही गर्दा बस्ती पहिरोको जोखिममा परेको स्थानीय टककुमारी छन्त्यालले बताइन्। गत वर्षदेखि सडक निर्माण थालिएको थियो। कमजोर र भिरालो जमिनमा जथाभावी रुपमा सडक बनाउँदा पहिरो गएको उनको भनाइ छ।

यस बस्तीका बासिन्दा जेठ पहिलो सातादेखि नै राति सुत्न पाएका छैनन्। विकासका नाममा निम्तिएको विनासका कारण आफ्नो थातथलो छोड्नुपर्ने अवस्था आएपछि यहाँका बासिन्दा चिन्तित छन्।

‘बस्तीमाथिको पाखोबाट खसेको पहिरोले घर पुर्न लागेको छ। दुई महिना यता रातमा निदाउन पाएका छैनौं,’ छन्त्यालले भनिन्, ‘३५ वर्षदेखि बसेको थातथलो छोडेर कहाँ जाने?’गत वर्षदेखि बस्तीमाथिको जमिन चर्किएर पहिरो खस्न थालेको थियो। हिउँदमा कुनै निकायले पनि संरक्षणको पहल नगर्दाको परिणाम यस पटकको बर्खामा देखिन थालेको भन्दै स्थानीय आक्रोशित बनेका छन्। यहाँका कतिपय बासिन्दाहरु घर छोडेर हिँड्ने तरखरमा रहेका र कतिले वल्लो गलेश्वर बजारमा भाडामा कोठा लिएर बसेका तिलबहादुर पुनले बताए।

बस्ती जोगाउन संरक्षणको काम गर्नका लागि गत वर्षदेखि नै सम्बन्धित निकायको ध्यानाकर्षण गराए पनि कुनै काम नभएको स्थानीयवासीको गुनासो छ। सडक निर्माण गर्दा लापरबाही भएका कारण वस्ती जोखिममा परेको र सडक पनि दिगो नभएको स्थानीय बुद्धिजीवि दीपक कार्की विखर्चीले बताए।

जथाभावी खनिएका सडकको कारण गलेश्वर पारीको बस्ती मात्रै होइन म्याग्दीका १९ वटा बस्तीका सयौं घर र परिवार जोखिममा छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.