|

काठमाडौं : निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) विवादको टुंगो आज लगाउने भएको छ।

आयोगले दुवै पक्षलाई बोलाएर इजलासमा सुनुवाइ गर्ने भएको हो। पार्टीको आधिकारिकता विवाद निरूपण गर्न राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अन्तर्गत सुनुवाइ हुन लागेको आयोगका अधिकारीहरूले जानकारी दिएका छन्‌।

आयोगले सुनुवाइका लागि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा आयुक्तहरूको ५ सदस्यीय इजलास गठन गरेको छ। विवाद पेचिलो बन्दै जाँदा आयोगले गत असार २३ गते इजलास गठन गरेको थियो।

इजलासमा प्रमुख निर्वाचन आयुक्त थपलियासहित आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर र सगुनशम्शेर जबरा छन्।

'आज पाँचजना आयुक्तहरू इजलास बस्नुहुन्छ, दुवै पक्षलाई बोलाइएको छ, उहाँँहरूले कानून व्यवसायीहरूले बहस नोट पेश गर्नुपर्ने हुन्छ। इजलासमा उहाँहरूको कतिपय सक्कल कागजात पेश भएको छैन। दुवै पक्षको माइन्युट माग्ने काम आज हुने सम्भावना छ,' आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने।

यसअघि दुवै पक्षलाई मेलमिलापका लागि बोलाएपनि उनीहरू राजी नभएपछि आयोगले इजलासबाट निरूपण प्रकृया अघि बढाएको हो। आयोगले छिट्टै नै विवाद निरूपण गर्ने तयारी थालेको छ। आजै बहस शुरू भएमा एक पक्षलाई तीन घण्टाको समय दिने आयोगको तयारी छ। 

पार्टीको विवाद उत्कर्षमा पुगेपछि जसपाका अध्यक्ष उपेन्द्र यादव समूहले पार्टीमा आधिकारिकता दाबी गरेको थियो। उसले आफूसँग बहुमत सदस्य रहेको दाबी गर्दै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.