५० सेल भन्दा बढी अश्रुग्यास प्रहार

|

धनगढी : कैलालीको धनगढीमा जमेको पानी निकास गराउने विवादले उग्र रूप लिँदा स्थानीय र प्रहरीबीच झडप भएको छ। 

धनगढी उपमहानगरपालिका-३ को हाटबजार, विद्युत् कार्यालयलगायत क्षेत्रमा जमेको पानी वडा नम्बर २ हुँदै मोहना नदीतर्फ निकास गर्न परिचालन भएका प्रहरीमाथि स्थानीयले ढुंगामुढा गरेपछि स्थिति तनावपूर्ण बनेको हो। 

स्थानीयले प्रहार गरेका ढुंगामुढाबाट नेपाल प्रहरी र सशस्त्रका समेत गरेर १० जना घाइते भएका जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ। घाइतेहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताइएको छ। घाइतेहरूको अवस्था सामान्य रहेको कैलाली प्रहरीले जनाएको छ।

धनगढी-३ को हाटबजार, विद्युत् कार्यालयलगायत क्षेत्रमा जमेको पानी निकास गर्न कल्भर्ट खोल्दा वडा नम्बर २ का स्थानीयसँग प्रहरीको झडप भएको थियो।

झडपका क्रममा प्रहरीमाथि ढुंगामुढा भएपछि ५० सेलभन्दा बढी अश्रुग्यास प्रहार गरिएको थियो। झडपका क्रममा आक्रोशित भीडलाई तितरबितर पार्न प्रहरीले बल प्रयोग गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए।

लगातारको वर्षाका कारण विद्युत् कार्यालय डुबान परेर प्रवाह नै अवरुद्ध हुने अवस्था थियो। धनगढी वडा नम्बर २ का स्थानीयले कल्भर्टमा ग्राभेल भरेर पानी रोकिदिएपछि बाध्य भएर बल प्रयोग गर्नु परेको प्रहरी उपरीक्षक अधिकारीले बताए।

वडा नम्बर २ का बासिन्दाले डुबानमा पर्ने भन्दै कल्भर्टमा पानी बन्द गरेका थिए। पानी निकास नहुँदा ३ नम्बर वडा डुबानमा पर्ने गरेको थियो। पानी धेरै जमेर बिद्युत् गृहमा नै क्षति हुन थालेपछि बल प्रहरी परिचालन गरिएको थियो।

यसअघि सोमबार पनि प्रहरीले कल्भर्ट खोलेका थिए। प्रहरीले खोलेको कल्भर्ट स्थानीयले पुन बन्द गरेपछि मंगलबार झडप भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.