|

बझाङ : बझाङको मष्टा गाउँपालिका – ५ द्वारीमा बिहीबार राति परेको अविरल वर्षाका कारण आएको बाढीले लघु जलविद्युतको भवन बगाएको छ। जिल्लाको मष्टा गाउँपालिका – ५ द्वारीमा रहेको द्वारीगाड लघु जलविद्युत् आयोजनाको भवन बगाएको हो। करिब १ करोड लागतमा निर्माण सम्पन्न भएको ४२ किलोवाट क्षमताको भवन नै आधा बगाइदिएको स्थानीय उब्जन बोहराले बताए।

यो आयोजनाबाट द्वारी गाउँका करिब ५ सय घरधुरीले विद्युत उपयोग गर्दै आएका थिए। भवन केही समय सञ्‍चालनमा आए पनि प्राविधिक समस्याका कारण विचमा अवरुद भएको थियो।

वर्षाले सोही दिन द्वारीगाडबाट द्वारीगाउँकै वारिपारि जोड्ने काठेपुल बगाउँदा आवतजावतमा समेत समस्या भएको छ। आवतजावतमा समस्या हुँदा शुक्रबार पुनः काठेपुल हाल्दा गाडले बगाएर तीनजना घाइते भएका छन्।

घाइते हुनेमा सोही गाउँका ४२ वर्षीया नरबहादुर बोहरा, ५५ वर्षीय वडा अध्यक्ष कम्मान बोहरा, ६५ वर्षका रिउल्या कठायत छन्। दुईजनाको अवस्था सामान्य भए पनि नरबहादुर बोहराको कम्मरमा गम्भीर चोट लागेकाले थप उपचारको लागि नेपालगन्ज पठाइएको जिल्ला अस्पताल सिमखेतका प्रमुख डा. सन्दीप ओखेडाले बताए। सोही दिन किनाडा गाउँका स्थानीय गिरिस कठायतका खेत र घट्टहरु समेत बगाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.