|

म्याग्दी : पहिरोले थुनिएको गुर्जा खोलामा पानी ओभर फ्लो भएर बग्न थालेपछि तटीय क्षेत्रमा रहेकाहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

थुनिएको खोलाको बाँध फुटेर एकैचोटी बगे तटीय क्षेत्रका दर्जनौं बस्ती जोखिममा पर्ने हुँदा सतर्कता अपनाउन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताएका छन्। खोलाबारे थप सूचना लिने प्रयास भैरहेको उनको भनाइ छ।

म्याग्दी सदरमुकाम बेनी हुँदै बग्ने म्याग्दी नदीको सहायक नदी गुर्जा खोला पहिरोले शनिवार ५ बजेदेखि थुनिएको हो। धवलागिरि गाउँपालिका–१ गुर्जास्थित खास्काको डाँडाबाट खसेको पहिरोले गुर्जा थुनिएर ठूलो तलाउ बनेको छ। खोला थुनिएबारे खेतवारी र गोठको काममा गएर फर्किएका स्थानीयले आफूलाई जानकारी गराएको र आफूले राति नै सम्बन्धित निकायहरुमा जानकारी गराइसकेको वडा नम्बर १ का अध्यक्ष झकबहादुर छन्त्यालले बताए।

गुर्जा र चुरेन हिमालको फेदीबाट बग्ने गुर्जा खोला मुदीमा आएर म्याग्दी नदीमा मिसिएको छ। थुनिएको स्थानमा गुर्जाबाट पुग्न दुई घण्टाभन्दा बढी समय लाग्छ। आइतबार बिहान वडाअध्यक्ष छन्त्या सहितको टोली खोला थुनिएको स्थानतर्फ प्रस्थान गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.