|

बैतडी : बैतडीमा मन्दिरको सुन चोरीको आरोपमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएकामध्ये चारजना सुन चोरीमा संलग्न र तीनजना भने सुन खरिद गर्ने व्यापारी रहेका छन्।

जिल्लाको दोगडाकेदार गाउँपालिका–१ रिमस्थित लटिनाथ मन्दिरको सुन चोरी भएको थियो। चोरीको सुन खरिद गर्ने दशरथचन्द नगरपालिका–४ गढीका सुनचाँदी व्यवसायी ३३ वर्षीय कञ्चन पौडेल, सोही ठाउँका ४५ वर्षीय गणेशकुमार पौडेल पक्राउ परेका हुन्।

गणेश नेपाल सुनचाँदी व्यवसायी संघ बैतडीका अध्यक्ष समेत हुन्। दुवैजनाले गोठलापानीमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका छन्।

यस्तै सुन खरिद गरेको आरोपमा दार्चुलाको शैल्यशिखर नगरपालिकाका सुनचाँदी व्यवसायी भुवनसिंह साहुलाई पनि पक्राउ गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।

गत पुसमा दोगडाकेदार गाउँपालिका–१ रिमकै धनबहादुर कार्की, लालबहादुर कार्की, केशव सार्की र हरिकृष्ण सार्कीले मन्दिरको सुन लुटेको पुष्टि भएको छ। उनीहरु चारैजनामाथि चोरी मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मन्दिरको सुन पुसमा चोरिए पनि चैतमा मात्रै थाहा भएको थियो। चैतपछि गाउँमा स्थानीयहरुले सुन चोर्नेको सोधीखोजी गरेका थिए। उनीहरुले असार अन्तिम साता मात्रै मन्दिरको सुन चोरी भएको बिषयमा प्रहरीलाई जानकारी गराएका थिए।

लटिनाथ मन्दिरमा नौ तोला सुन रहेकोमा पौने चारतोला प्रहरीले बरामद गरिसकेको छ भने बाँकी सुन बिक्री भएको खुलेको छ। बिना बिलको सुन खरिद गर्नु गैरकानुनी कार्य भएकाले मन्दिरबाट लुटिएको सुन खरिद गर्नेहरुमाथि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शाहीले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.