|

काठमाडौं : यतिखेर काठमाडौं उपत्यकाका निषेधाज्ञा जारी छ। कोभिड-१९ रोकथाम तथा नियन्त्रण गर्न सरकारले गत वैशाख १६ गतेबाट नै निषेधाज्ञा जारी गरेको थियो। निषेधाज्ञामा नारा जुलुस निकाल्न नपाइने भनिएको छ।

‘खुला स्थानमा मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोज भतेर आदि गराउन नपाइने छ,’ उपत्यकाका तीन जिल्लाका प्रमुख अधिकारीहरुले गत १० गते जारी गरेको निर्णयमा भनिएको छ।

तर उक्त्त निर्णयको अवज्ञा गर्दै दिनहुँ नारा जुलुस आयोजना भइरहेका छन्। अहिले पनि माइतीघर मण्डलामा राजतन्त्रका पक्षमा राजावादीहरुले प्रदर्शन गरिरहेका छन्। यसरी दिनहुँ हुने प्रदर्शनबाट कोभिड संक्रमण फैलिने उच्च जाेखिम बढेकाे छ।

गत १० गते पनि माइतीघर मण्डलामा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तलाई न्याय माग्दै अखिल क्रान्तिकारीले प्रदर्शन गरेको थियो। निर्मलाको हत्या भएको ३ वर्ष भइसक्दा पनि छानबिन नभएको र हत्यारा पत्ता लगाउनु पर्ने माग राख्दै उनीहरुले विरोध प्रदर्शन गरे।

सोही दिन यातायात व्यवसायीहरूले भाडा समायोजन र कोभिड-१९ विरुद्धको खोप माग गर्दै विरोध र्‍याली निकालेका थिए। तर उनीहरुले निषेधाज्ञा अवज्ञा गरे पनि जिल्ला प्रशासनले कुनै कारबाही गरेकाे छैन। नारा जुलुस राेक्नुपर्ने बेलामा जिल्ला प्रशासन माैन छ।

‘जति भनेपनि टेर्दैनन्’

काठमाडाैंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जति अनुरोध गरिए पनि प्रदर्शनकारीहरूले टेर्न छाेडेकाे बताए। ​

उनले भने,‘वैशाखबाट नै हामीले सभा सम्मेलन,नारा जुलुस गर्दा कोरोना संक्रमण फैलिन्छ भनेर कार्यक्रम गर्नमा राेक लगाएका थियौँ,अहिले पनि रोक लगाएका छौँ,तर जति भनेपनि प्रदर्शनकारी मान्दैनन्।’  पछिल्लो समय कोरोना संक्रमणदर बढेको भन्दै उनले अबदेखि कडाइ गरिने बताए। 

निषेधाज्ञा खुकुलाे पारिएसँगै उपत्यकामा काेराेना संक्रमणकाे दर बढ्दाे क्रममा छ। मंगलबार देशभर तीन हजार आठ सय बढी नयाँ काेराेना संक्रमित बढेका छन्। त्यसमध्ये उपत्यकामा  ७७४ संक्रमित थपिएका छन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.