|

इलाम : पौडीका एलेक्जेन्डर गाडेगार्ड शाह (एलेक्स) ले पुरुष १ सय मिटर फ्रीस्टाइलमा आफ्नो कीर्तिमान सुधार गरेका छन्।

टोकियो ओलम्पिक २०२० मा सहभागी एलेक्सले निर्धारित दूरी ५३.४१ सेकेन्डमा पूरा गर्दै कीर्तिमान सुधार गरेका हुन्। यसअघि उनले ५५.३८ सेकेन्डमा निर्धारित दूरी पार गर्दै कीर्तिमान राखेका थिए। एलेक्स आफ्नो हिटमा शीर्ष स्थानमा रहे।

७ खेलाडी रहेको यस हिटमा एलेक्स छैटौं लेनमा रहेका थिए। यद्यपि एलेक्स अघिल्लो चरण प्रवेश गर्न भने असफल रहे। हिट चरणबाट कम समयमा पूरा गर्ने शीर्ष १६ खेलाडीले सेमिफाइनलमा स्थान बनाउनेछन्। यस स्पर्धामा प्रतिस्पर्धा गरेका कुल ७१ खेलाडीमध्ये एलेक्स ५९ औं स्थानमा रहे। एलेक्सले दक्षिण एसियाका भुटान, माल्दिभ्स र पाकिस्तानका खेलाडीसहित १० जनालाई पछि पारे।

१३ औं दक्षिण एसियाली खेलकुदमा यसै विधामा स्वर्ण जितेका श्रीलंकाका म्याथ्यु अबेसिंघेले ५०.६२ सेकेन्डमा पूरा गरे। समग्रमा ४८.४४ सेकेन्डभन्दा कम समयमा पूरा गर्नेले सेमिफाइनलमा स्थान बनाए।

पौडीमै गौरिका सिंहले भोलि प्रतिस्पर्धा गर्नेछिन्। उनले १ सय मिटर फ्रीस्टाइलमा प्रतिस्पर्धा गर्नेछिन्। यसमा राष्ट्रिय कीर्तिमान गौरिकाकै नाममा रहेको छ। उनले नेपालगंजमा भएको आठौं राष्ट्रिय खेलकुदमा ५९.६० सेकेन्डमा निर्धारित दूरी पूरा गरेकी थिइन्।

एथलेटिक्सकी सरस्वती चौधरीले भने ३० जुलाईमा प्रतिस्पर्धा गर्नेछिन्। उनले १ सय मिटर दौडमा सहभागिता जनाउनेछिन्।​

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.