|

जुम्ला : चन्दननाथ नगरपालिकामा कार्यरत कर्मचारीले काठमाडौँमा बसेर तलब खाइरहेको पाइएको छ।

नगरपालिकाकी मेयर कान्तिका सेजुवालले काठमाडौँ बसेका आफन्तलाई तलब खुवाउँदै आएकी पाइएको हो।

मेयर कान्तिकाकी बहिनी नाता पर्ने राधिका मल्ल अनमी हुन्। उनी काठमाडौंमा बस्दै आएकी छिन्। तर, मेयर कान्तिकाले उनलाई नगरपालिकामा अनमी चौथो तहमा नियुक्त गरेर काठमाडौँमा बसेपनि तलब खुवाइरहेकी छिन्‌।

मल्ललाई तलबवापत नगरपालिकाको स्वास्थ्य शाखाबाट मासिक २६ हजार ६१० रुपैयाँ तलब भुक्तानी भइरहेको छ। तर, अहिलेसम्म उनी नगरपालिकामा उपस्थित छैनन्‌। नगरपालिकाका स्वास्थ्यकर्मीहरूले उनलाई कार्यक्षेत्रमा नदेखेको बताएका छन्‌। 

दिदी मेयर भएकाले काठमाडौंमा बसेरै तलब पचाउन उनी लागिरहेको स्रोत बताउँछ। ‘मेरो नाम गोप्य राखिदिनु होला, उहाँ मेयरकी बहिनी हुनुहुन्छ, काठमाडौंमा बस्नुहुन्छ,’ एक कर्मचारीले भने, ‘काठमाडौँ बसेपनि तलब नगरपालिकाबाटै खाइरहनुभएको छ।’

यसरी मेयर कान्तिकाले आफन्त र नातागोताका नाममा सरकारी रकम ठाडै दुरुपयोग गर्दा नियमनकारी निकायका अधिकारीहरू मौन देखिएका छन्। मेयरले सार्वजनिक सम्पत्ति र जनताको करमाथि आफन्तलाई रजाइँ गर्न दिँदा पनि सरोकारवाला निकाय मौन देखिएका हुन्।

संघीयता र स्थानीय सरकारले निमुखा र गरिब जनतालाई आधारभूत आवश्यकता पुर्‍याउन नसकेका बेला जुम्लामा मेयरले नै यति धेरै मनलाग्दी गरेको पाइएको हो।

नगरपालिकाका केही कर्मचारी भन्छन्, ‘हामी नियमित कार्यक्षेत्रमा खटिएर काम गर्दा पनि  तलब पाएका छैनौँ। तर, मेयर सेजुवालकी बहिनी काठमाडौँ बसेर असार मसान्तसम्मको तलब बुझेकी छिन्।’

यस्तो गर्नु गैरकानूनी भएपनि मेयर सेजुवालले बैनी राधिकालाई २०७७ मंसिर महिनादेखि नै नगरको कर्मचारीको रूपमा राखेकी थिइन।’ उनी २०७८ असार महिनाको तलब बुझ्दासम्म जुम्ला आएकी थिइनन्।

यता, चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतले मल्ल जुम्लामा नआएसम्म तलब नदिने बताए। उनले जेठ महिनासम्मको तलब दिइएको स्वीकार गरेका छन्।

राधिका मल्ल करार नियुक्त कर्मचारी हुन्। नियुक्ति पाएपछि उनले दुई महिनाजति जुम्लामै काम गरेकी थिइन्‌। मेयरलाई कोरोना संक्रमण भएपछि हेरचाह गर्न भन्दै उनलाई स्वकीयको जिम्मेवारी दिइएको थियो।

मेयर फर्किएपनि उनी काठमाडौंमै रहेकी थिइन्‌। कार्यालयमा हाजिर हुन नआउनुको कारणबारे स्पष्टीकरण सोध्दा उनले अहिलेसम्म जवाफ फर्काएकी छैनन्‌।  

चन्दननाथ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढथापाले मेयरकी बैनी काठमाडौंमा बसेर जुम्लाको तलब खाएको गुनासो यसअघि पनि आएको बताए।

‘नगरभित्रबाटै गुनासो आएको थियो। त्यसलगत्तै तलब रोक्ने निर्णय पनि भएको हो। तर, फेरि तलब कसरी दिइयो भन्नेबारे मलाई जानकारी छैन,’ उनले भने, ‘प्रमुख प्रशासकीय अधिकृत तीर्थराज पौडेल केही दिनका लागि बिदामा जानु भएकाले मलाई निमित्तको जिम्मेवारी दिइएको छ। सोही कारण पूरा जानकारी छैन।’

नगरपालिकाकै एक कर्मचारीका अनुसार चन्दननाथमा करार सेवामा निकै कर्मचारी भर्ती गरिएको छ। ती मध्ये अधिकांशले कामै नगरी तलब बुझ्ने गरेका छन्‌।

ती कर्मचारीले भने, ‘यसरी नगरमा आएको बजेट दुरुपयोग हुँदा पनि सरोकारवाला निकायले खबरदारी गरिरहेको छैन। उल्टै संरक्षण गरिरहेको छ।’

मेयरका यस्ता कामलाई लिएर विवाद हुँदा नगरको सेवा प्रभावित मात्रै होइन, नगरपालिकाको बजेटसमेत पारित हुन सकेको छैन।

असार १० गते नै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट नगर सभाबाट पारित हुनुपर्ने संवैधानिक व्यवस्था छ। औपचारिक रूपमा नगर सभाबाट नीति तथा कार्यक्रम र बजेट पारित नभएको उपप्रमुख अप्सरा देवी न्यौपानेले बताएकी छिन्‌।

उपप्रमुख न्यौपानेका अनुसार तीन आर्थिक वर्षदेखि सार्वजनिक सुनुवाइसमेत हुन सकेको छैन। रेडबुक अनुसार योजना कार्यान्वयन हुँदैनन्।

‘अपारदर्शी रूपमा बजेट खर्च गर्ने जस्ता कामले गर्दा नगरपालिका विवादित बन्दै गएको छ,’ उनले भनिन्, ‘अपारदर्शी कार्यको टुंगो नलागेसम्म र माग सम्बोधन नभएसम्म नगरसभा हुने छाँटकाँट छैन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.