|

बैतडी : बैतडीमा आगामी आइतबारदेखि कोरोनाविरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। अभियान साउन २१ गतेसम्म सञ्चालन हुने  कार्यालय प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। 

खोप लगाउनका लागि प्रत्येक वडामा खोप केन्द्र तोकिएका छन्। ठूलो वडामा आवश्यकता अनुसार खोप केन्द्र विस्तार गरिने भट्टले बताए। अभियानमा ५५ देखि ६० वर्ष उमेर समूहका नागरिकलाई खोप लगाइने छ। यस्तै‚ शिक्षक, कर्मचारी, सवारी चालक र सहचालकहरुलाई खोप लगाइने भएको हो।

खोप अभियानअन्तर्गत साउन १७ र १८ गते पाटन नगरपालिका, डिलाशैनी गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा खोप दिइने स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले बताए। यस्तै‚ साउन १९ र २० गते सिगास गाउँपालिका र पुर्चौंडी नगरपालिकामा खोप अभियान सञ्चालन हुनेछ। यसैगरी साउन २० र २१ गते पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका, मेलौली नगरपालिका, दशरथचन्द नगरपालिका र सुर्नया गाउँपालिकामा खोप अभियान सञ्चालन हुने जनाइएको छ। 

बैतडीमा खोप अभियानका लागि १८ हजार डोज खोप आइसकेको छ। भेरोसेलको पहिलो मात्रा लगाएका नागरिकलाई २८ दिनभित्र दोस्रो मात्रा दिनुपर्ने हुन्छ। दोस्रो मात्रा मौज्दात राखेर खोप अभियान सञ्चालन हुने कार्यालयले जनाएको छ।

खोप लगाउन तोकिएको खोप केन्द्रमा आफ्नो परिचय खुल्ने प्रमाणपत्रसहित उपस्थित हुन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.