दिवंगत भइसकेकाको नाममा समेत भ्रष्टाचार !

|

पर्वत : जिल्लाको कुश्मा नगरपालिका–१ पाङका ७३ वर्षीय नरबहादुर क्षत्री गत मंगलबार सामाजिक सुरक्षा भत्ता बुझ्न सदरमुकाम कुश्मा बजार आए।

रोपाइँ गर्दा लागेको खर्चपर्च तिर्न तीन महिनामा आएको भत्ता निकाल्न बैंकको लाइनमा उभिए। लाइनमा बस्दा पालो नआएपछि छाडेर नजिकैको छिँडीमा बसे। सबैको पालो सकिएपछि अन्तिममा बैंकभित्र छिरेर पैसा निकाले। तर बैंकमा पालो कुर्दा ढिला भइसकेकाले उनी बिहानमा बजार झरेको जिप छुट्यो, उनी सदरमुकाममा आफन्तको एक रात बसेर भोलिपल्ट गाउँ लागे।

बैंकसम्बन्धी यस्तै खालका धेरै समस्याहरू पर्वतका ज्येष्ठ नागरिकहरूले भोग्दै आएका छन्।

बैंकका शाखाहरू बजार केन्द्रित भएर सेवा दिने गरेका छन्। भत्ता बापतको रकम वडाबाट नगदै बाँड्दा दिवंगत भइसकेकाहरूको नाममा समेत भ्रष्टाचार भएको लगायत कारणले विवादित बन्यो।

त्यसको समाधानको लागि बैंकबाट कारोबार गर्ने व्यवस्था गरिएको भए पनि बैंकहरू भने गाउँ गाउँमा छैनन्। बुढेसकालमा यसै त शारीरिक रूपमा कमजोर रहने पाको पुस्ता लौरी टेकेरै भए पनि बजारका बैंकमा जानुपर्ने बाध्यता छ।

‘गाउँबाट आएर बैंकको लाइनमा बसेको हुँ पालै आएन। बसिराख्या भा त पालो आउँदो हो के रे तर म अडिनै सकिनँ। लाइनबाट निस्केर बाहिर सितलो सिमेन्टीमा बसेँ’, नरबहादुर भन्छन्, ‘हामी बजार आउनै सकिन्न बरु बैंक गाउँमै गए हुने हो। यो बर्खाको बेला मरिन्छ कि भन्दै यत्रो बाटो कुश्मा आइयो।’

गाउँमा सेवाग्राहीको संख्या थोरै हुने भएकाले बैंकहरू सदरमुकाममा केन्द्रित हुनु पनि स्वाभाविकै हो। तर बैंकहरूले सेवाको शैलीलाई फेरिदिए ज्येष्ठ नागरिकलाई सजिलो हुने समाजसेवीहरू बताउँछन्।

बैंकको शाखा गाउँमै स्थापना गर्न नसकिने अवस्था भएमा बैंकहरूले भत्ता वितरण गर्ने बेलामा वडाको सहकार्यमा गाउँमा निश्चित केन्द्र तोकेर कर्मचारी पठाई वितरण गर्न सकेमा अवस्था सजिलो बन्ने मानव अधिकारको क्षेत्रमा काम गर्ने कुश्माका जगत् सापकोटा बताउँछन्।

‘साना–साना गाउँमा बैंकका शाखा खोल्नै पनि समस्या होला। सीमित सेवाग्राहीलाई सेवा दिन लाखौँको लगानी गर्नुपर्ने अवस्था हुन्छ। बरु त्यो भन्दा सामाजिक सुरक्षा भत्ता बाँड्दै आएका बैंकहरूले भत्ता आएपछि दिन र ठाउँ तोकेर र वडाको सहयोगमा गाउँमा पुगेर वितरण गर्दा राम्रो हुन सक्छ’, उनले सुझाए, ‘भत्ता बुझ्ने बेलामा बैंकका बाहिरपट्टि ज्येष्ठ नागरिकको मात्रै दिनहुँ भीड लाग्छ। त्यसले सबै सेवाग्राही, कर्मचारीलगायत सबै पक्षमा असर पर्छ।’

कुश्मा नगरपालिका–१२ ठूलीपोखरी र फलेवास नगरपालिका–३ शंकरपोखरीका ज्येष्ठ नागरिकको भत्ता वितरणको जिम्मा लिएको गरिमा विकास बैंक कुश्माका शाखा प्रबन्धक लोकेन्द्र क्षत्रीले भत्ता वितरण गर्ने बेलामा बैंकमा निकै भिडभाड हुने गरेको र गाउँ–गाउँबाट आएका सेवाग्राहीले तुरुन्तै सेवा पाउने अवस्था नरहेको बताए।

सामान्य अवस्थामा दैनिक करिब दुई सय जना सेवाग्राहीले आफ्नो शाखामा कारोबार गर्ने गरेको भए पनि भत्ता वितरणको समयमा त्यो संख्या चार सयभन्दा माथि पुग्ने उनी बताउँछन्। 

‘भत्ता बाँड्ने बेलामा एकै दिनमा चार सय भन्दा बढी सेवाग्राहीको भीड लाग्छ। सिस्टमअनुसार नै काम गर्दा एक जनालाई केही मिनेट त लागिहाल्छ नै’, उनले भने, ‘मासिक रूपमा भत्ता आउने भएको भए यस्तो अलि हुने थिएन होला। अहिलेसम्म ४/४ महिनामा आउँथ्यो, अब ३/३ महिनामा आउने रे भन्ने सुनेको छु।’

एक पटक बुझेको भत्ताले चार महिनासम्म धान्नु परेका कारण अर्को पटक बैंकमा पैसा पुगेको थाहा पाउँदासाथ सेवाग्राही एकै पटक आउने र त्यो बाध्यता पनि भएको क्षत्री बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.