प्रत्यक्षदर्शी भन्छन् : तुइन काटेपछि एसएसबीका दुवै जवान भागे

|

धनगढी : दार्चुलाको व्याँस गाउँपालिका–२, राप्ला खानदानका ३३ वर्षीय जयसिंह धामी वैदेशिक रोजगारीको तयारीका लागि शुक्रबार बिहान घर परिवारबाट बिदा भएर निस्किए।

कोरोना महामारीका कारण एक वर्षअघि नेपालमा लकडाउन जारी भएकै अवस्थामा दुबईबाट उनी घर फर्किएका थिए। लामो लकडाउन र बेरोजगारीले घरपरिवारमा आर्थिक समस्या पर्न थालेपछि उनी पुनः वैदेशिक रोजगारीको तयारीका लागि घरबाट निस्किएका हुन्।

व्याँस गाउँपालिका–२ का स्थानीयको विवशता भनौं या बाध्यता उनीहरूले सदरमुकाम खलंगा पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्छ।

केही दिनको तयारीपछि जयसिंह धामीसहितका केही स्थानीय युवा महाकाली नदीपारिको भारतीय बाटो प्रयोग गर्न शुक्रबार बिहान महाकाली नदीमा रहेको तुइन चढ्न पुगेका थिए।

उनका केही साथीहरू तुइन चढेर नदी पार गरे। उनको पालो आयो। उनी पनि तुइनमा बसे। तर, जब उनी नदीको बीचमा पुगे, तब भारतीय एसएसबीले तुइनको डोरी काटिदिएपछि नदीमा खसे र महाकालीको तेज धारमा बेपत्ता भएको उनका दाइ नरेन्द्रसिंह धामीले दुखेसो सुनाए।

‘हामी निकै पीडित छौँ। आफ्नै जिल्ला सदरमुकाम जान हामीले भारतीय बाटो भएर जानुपर्छ,’ उनले भने, ‘बर्खा र हिउँदमा हामीले तुइन चढेर पारि रहेको भारतको उत्तराखण्डको धार्चुला जानुपर्छ। त्यसपछि पुनः गाडी चढेर सदरमुकाम खलंगा जानुपर्ने हुन्छ। आज जयसिंह त्यही बाध्यताको शिकार भए।’

लकडाउनपछि दुबईबाट घर फर्किएका जयसिंह पुनः भिसाको तयारीमा काठमाडौं जान्छु भनेर घरबाट निस्किएका थिए। तर, भारतीय एसएसबीले बिहान ९ बजेतिर उनी चढेको तुइन काटिदिएपछि बेपत्ता भएको नरेन्द्रसिंह बताउँछन्।

एसएसबीको यो गैरमानवीय हर्कत भने नयाँ नभएको स्थानीयवासी दु:खेसो सुनाउँछन्। चार दिनअघि पनि भारतीय एसएसबीले खलंगाबाट फर्किने क्रममा निकै धम्क्याएको नरेन्द्रसिंह बताउँछन्।

महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले देखेपछि तुइन काटिदिएका थिए। जयसिंह तुइनबाट ओर्लिन एक-दुई पाइला मात्रै बाँकी रहँदा त्यहाँ पुगेका दुईजना एसएसबीका जवानले तुइन काटिदिएका हुन्।

धामी तुइन तर्ने बेलामा प्रत्यक्षदर्शीहरु बिक्रम रोङकली, अनिता धामी र कल्यान सिंह धामी नेपालतिरकै भूभागमा थिए। धामी महाकाली नदीमा बेपत्ता भएसँगै दुवैजना एसएसबीका जवान घटनास्थलबाट भागेको प्रत्यक्षदर्शीले बताएका छन्। उक्त घटनापश्चात् दार्चुलावासी तथा विभिन्न दलले घटनाको सत्यतथ्य छानविन गर्न माग गरेका छन्।

घटना छानविनका लागि के गर्दै छ सरकार पक्ष?

धामी बेपत्ता भएको विषयमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय प्रशासनलाई पत्रचार गरेको छ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले डिएम कार्यालय पिथौरागढ र एसडिएम कार्यालय धारचुलालाई सत्यतथ्य छानबिन गर्न पत्रचार गरेको निमित्त प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले बताइन्। तर, त्यसको कुनै जवाफ नआएको उनले बतानइन्। यस्तै, घट्नाको विषयमा सत्यतथ्य पत्ता लगाउन सुरक्षाकर्मी खटाइएको छ।

त्यसैगरी नेपाल सरकारले  घटनाबारे छानबिन गर्न समिति बनाएको छ। गृहमन्त्री बालकृष्ण खाँणले गृहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरेका हुन्। समितिमा गृह मन्त्रालयका प्रवक्ता, नेपाल प्रहरीका सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी र दार्चुलाको सहायक प्रमुख जिल्ला अधिकारी सदस्य छन्।

गृहमन्त्री खाँणले जतिसक्दो छिटो सत्यतथ्य छानबिन गरेर प्रतिवेदन पेश गर्न निर्देशन दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.