|

बैतडी : स्थानीय तहमा पहिलोपटक सडक मर्मत स्वयंसेवक नियुक्त गरिएको छ।

जिल्लाको दोगडाकेदार गाउँपालिकाले ४० जना सडक मर्मत स्वयंसेवक नियुक्त गरेको हो।

पालिकाले निर्माण गरेको सडक सरसफाइ, मर्मतसम्भार तथा रेखदेखका लागि स्वयं सेवकलाई करार सेवामा नियुक्त गरिएको गाउँपालिकाले जनाएको छ।  

गाउँपालिकाले आफ्नै लगानीमा निर्माण गरेका सडकहरू सुचारु, मर्मत र नियमित सञ्चालन गर्न सडक मर्मत स्वयंसेवक नियुक्त गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रविन्द्र धामीले जानकारी दिए।

‘प्रत्येक स्वयंसेवकलाई मासिक १३ हजार ५०० रुपैयाँ तलब दिने गरेर नियुक्त गरिएको हो,’ उनले भने, ‘नियुक्त गरिएका स्वयंसेवकलाई सडक मर्मतका लागि फिल्डमा खटाइसकेका छौँ।’

स्वयंसेवकका लागि चालु आर्थिक वर्षमा ७० लाख रुपैयाँ बजेट विनियोजन गरिएको गाउँपालिकाका पदाधिकारीहरूले जानकारी दिएका छन्‌। सबै वडामा पुर्‍याइएका सडकहरूमा नियमित रूपमा सवारीसाधन सञ्चालन गर्न स्वयंसेवक नियुक्त गरिएको उनीहरू बताउँछन्‌।

​दोगडाकेदार गाउँपालिकाले खोचलेक-रीम-गोरङ सडक, सिल्लेगडा-कटौजपानी, खोचलेक-सित्तड, कपडा-कलौन लगायतका सडकलाई नियमित रूपमा सञ्चालन गर्नका लागि स्वयंसेवक नियुक्त गरेको बताएको छ। 

सडक मर्मत स्वयंसेवक नियुक्त गरिएसँगै गाउँपालिकाका ग्रामिण सडकहरू बाह्रै महिना सञ्चालन हुनेछन्‌। यसअघि वर्षातको समयमा सडकहरू बन्द हुने गरेका थिए। 

बैतडीका १० स्थानीय तहहरूमध्ये दोगडाकेदार गाउँपालिकाले पहिलोपटक स्वयंसेवक नियुक्त गरेको हो। अन्य स्थानीय तहहरूले भने यसो गरेका छैनन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.