|

कञ्चनपुर : भीमदत्त नगरपालिकाका शिक्षकहरुले दरबन्दी मिलानको नीतिवपरीत भएको भन्दै रिले अनसन सुरु गरेका छन्।

नेपाल शिक्षक संघमा आवद्ध शिक्षकहरुले शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि २०७६ बमोजिम दरबन्दी मिलान हुनुपर्ने माग गरेका छन्। कार्यविधि विपरीत दरबन्दी मिलान गरिएकाले त्यसको विरोध गर्दै रिले अनसनमा बस्नु परेको संघका कञ्चनपुरका अध्यक्ष गणेश चन्दले बताए। 

‘विषयगत रुपमा दरबन्दी मिलानको कार्य गरिएको छैन‚’ उनले भने, ‘कुनै विद्यालयमा एकै विषयका दुई शिक्षक र कतै एक शिक्षक पनि छैनन्। यो कस्तो तरिकाले दरबन्दी मिलान गरिएको हो?’

नगरपालिकाले गरेको शिक्षक दरबन्दी मिलानमा संघले असहमति जनाउँदै साउन ३ देखि विरोध गर्दै शिक्षा शाखामा तालाबन्दी गर्नुका साथै धर्ना र रिले अनसन लगायतका कार्यक्रम गर्दै आएको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्कर भट्टले कार्यविधिअनुसार नै शिक्षक दरबन्दी मिलान गरिएको दावी गरेका छन्। ‘कार्यविधिअनुसार नै दरबन्दी मिलान गरिएको छ‚’  उनले भने, ‘कतै त्रुटि भए त्यसलाई सच्याउन तयार छौं।’

यसैबीच, तीन शिक्षक संगठनले नगरपालिकाले गरेको शिक्षक दरबन्दी मिलानको कार्य कार्यान्वयनको माग गरेका छन्। नेपाल राष्ट्रिय शिक्षक संगठन, एकीकृत अखिल नेपाल शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठनले संयुक्त रुपमा दरबन्दी मिलानको कार्य कार्यान्वयन गर्नका लागि नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.