|

काठमाडौं : बंगलादेश भ्रमणमा रहेको अस्ट्रेलियामाथि घरेलु टोलीले लगातार दोस्रो जित निकालेको छ।  ५ खेलको टि–२० सिरिजअन्तर्गत बुधबार ढाकामा भएको दोस्रो खेलमा बंगलादेशले अस्ट्रेलियामाथि ५ विकेटको जित निकाल्यो।

यो जितसँगै बंगलादेशले सिरिजमा २–० को अग्रता लिएको छ। यसअघि मंगलबार भएको पहिलो खेलमा बंगलादेश २३ रनले विजयी भएको थियो।

पहिला ब्याटिङ गर्दै अस्ट्रेलियाले दिएको १२२ रनको सामान्य लक्ष्य बंगलादेशले १८ दशमल ४ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो। बंगलादेशका लागि आसिफ हुसेनले सर्वाधिक ३७ रन बनाउँदा सकिब अल हसनले २६ रन बनाए। 

अस्ट्रेलियाका लागि मिचेल स्टार्क, जोश हेजलउड, स्टोन अगर, एडम जम्पा र एन्ड्रयु टाइले समान १ विकेट लिए।

यसअघि पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ओभरमा ७ विकेट गुमाएर १२१ रन मात्र बनाउन सक्यो । उसका लागि मिचेल मार्सले ४५ र मोइसेस हेनरिक्सले ३० रन बनाउनु बाहेक अन्य खेलाडीले गतिलो प्रदर्शन गरेनन्। 

अस्ट्रेलियालाई कम योगफलमा समेट्न बंगलादेशका मुस्ताफिजुर रहमानले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए भने सोरिफुल इस्लामले २ विकेट लिए।

यी दुई बीचको तेस्रो टि–२० शुक्रबार ढाकामा हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.