|

अस्ट्रेलिया र बंगलादेशबीच जारी पाँच खेलको टी-२० सिरिज बंगलादेशले दुई खेल अगावै ३-० ले कब्जा गरेको छ। बंगलादेशमा जारी टी-२० सिरिजको तेस्रो खेलमा १० रनको जित निकाल्दै बंगलादेशले लगातार तीन खेल जित्दै सिरिज कब्जा गरेको हो।

अस्ट्रेलियन युवा बलर नाथन एलिसको विश्व कीर्तिमानी ह्याट्रिकक लिए पनि अस्ट्रेलिया पहिलो जित निकाल्न असफल रह्यो। अष्ट्रेलियाविरुद्ध बंगलादेशले इतिहासमा पहिलो पटक सिरिज जित्न सफल भयो। एलिस टी-२० अन्तर्राष्ट्रियमा डेब्यु खेलमानै ह्याट्रिक गर्ने विश्वका पहिलो बलर बने।

बंगलादेशले टस जितेर पहिलो ब्याटिङ गर्दै १२७ रन जोड्यो। १२८ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै ११७ रनमानै समेटिन पुगेको थियो। अष्ट्रेलियालाई अन्तिम १२ बलमा जितको लागि २३ रन आवश्यक थियो। तर‚ १९ औं ओभरमा मुस्ताफिजुर रहमानले एक रन मात्र दिएपछि अष्ट्रेलिया जित कठिन बनेको थियो।

अष्ट्रेलियाका मिचेल मार्शले ४७ बलमा ६ चौका र एक छक्कासहित सर्वाधिक ५१ रनको योगदान दिँदा ओपनर बेन म्याकडेरमोट ३५ रन बनाए। त्यस्तै‚ एलेक्स केरी १५ बलमा २० रनमा अविजित रहे। बंगलादेशका शोरिफुल ईस्लामले २, सकिब अल हसन र माहेदी हसनको नाममा समान एक-एक विकेट लिए।

त्यसअघि शेरे बंगला राष्ट्रिय स्टेडियम ढाकामा टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२७ रन बनाएको थियो। बंगलादेशका कप्तान महमुदूल्ला रियादले ५३ बलमा ४ चौका सहित सर्वाधिक ५२ रनको अर्धसतकीय इनिङ खेले। त्यस्तै‚ सकिब अल हसन १७ बलमा ४ चौकासहित २६ रनमा क्याच आउट भए। अफिफ हुसैनले १९ रन बनाउँदा नुरुल हसनले ११ रन जोडेका थिए।

अष्ट्रेलियाका नाथन एलिसले टी-२० आई क्रिकेट डेब्यू खेलमै ह्याट्रिक सम्भव बनाए। उनले १९ औं ओभरको चौथो बलमा महमुदुल्लाहलाई बोल्ड आउट गरेका थिए। पाँचौ बलमा मुस्ताफिजुर रहमान तथा अन्तिम बलमा माहेदी हसनलाई पेभिलियन फर्काएका थिए।

त्यस्तै‚ अष्ट्रेलियाका नाथन एलिसले ३ विकेट लिए। जोश हेजलवुड र एडम जाम्पाले २-२ विकेट लिए। यी दुईबिचको चौथो खेल आज हुँदैछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.