|

ईरान र इजरायल दशकौंदेखि एक–अर्को विरुद्धमा कम्मर कसेर लागेका छन्। दुवै देशले एक–अर्कोलाई आफ्नो राष्ट्रिय सुरक्षामा खतरा ठान्छन्। 

हालैका वर्षहरूमा मध्यपूर्वका यी दुई देशबचि एक लडाइँ चलिरहेको छ, जसलाई ‘छद्म युद्ध’ संज्ञा दिने गरिएको छ। जमिन र आकाशबाट शुरू भएको यो लडाइँ अहिले समुद्री झडपसम्म विस्तार भइसकेको छ। 

ओमान खाडी नजिक दुवै देशका कयौं पानीजहाजहरूमा आक्रमण भइसकेको छ। 

जुलाई २९ मा एमबी भर्सर स्ट्रीट जहाज हमलाको निशाना बन्यो। मध्यम आकारको खाली ट्यांकर ताञ्जानियाको दार–अस–सलाम बन्दरगाहबाट संयुक्त अरब इमिरेट्स (यूएई) को फुजैराह रिफ्यूलिङ पोर्टतर्फ जाँदैथियो। यो बन्दरगाह ओमानको खाडीमा पर्छ। 

जापानको स्वामित्व रहेको लाइबेरियाको सो जहाज इजरायलको एक कम्पनी जोडायक मेरिटाइमले भाडामा चलाउने गरेको थियो। त्यो दिन सो जहाजमा विस्फोटक ड्रोन दागेर विस्फोट गराइएको थियो। 

हमलामा दुईजना मारिए। मारिएकामध्ये एकजना रोमानियाली सुरक्षा गार्ड र अर्का बेलायती नागरिक थिए। आक्रमण भएपछि जहाजले सहयोग पाउन सहयोग मागेको थियो। अमेरिकी नौसेनाको दुई जहाजले आफ्नो निगरानीमा एमबी भर्सर स्ट्रीटलाई बन्दरगाहसम्म पुर्‍याएको थियो। 

हमलापश्चात बेलायत र ईरान दुवै देशले एक–अर्को देशका कूटनीतिज्ञलाई केरकार गरे। इजरायल, बेलायत र अमेरिकाले सो हमला गर्न ईरान जिम्मेवार रहेको बताए। तर, ईरानले आरोप निराधार रहेको दाबी गर्‍यो। 

यो एक–दोस्रोमाथि हमला गर्ने खतरनाक खेल हो, जसमा ईरानका शीर्ष परमाणु वैज्ञानिकलाई इजरायलले हत्या गरेको प्रतिशोध गढेको छ। ईरानको परमाणु कार्यक्रमलाई तहसनहस बनाउने इजरायलको कोसिससँग जोडेर पनि यसलाई हेर्न सकिन्छ।

अप्रिलमा भएको अर्को एक घटनामा ईरानी सेनाको शाविज नामको एक आपूर्ति जहाजमा विस्फोट भयो। ईरानले सो घटनामा इजरायललाई दोषी ठहर्‍यायो। सो घटना लाल सागरमा भएको थियो। 

हालैका महिनामा इजरायल र ईरानका जहाजहरूमा कयौंपटक हमला भइसकेको छ। माथि उल्लेखित जहाज आक्रमणका दुई घटना यसैका उदाहरण हुन्।

पानीजहाजमाथि आक्रमण हुँदा हरेक पटक दुवै देशले एक–अर्कोलाई आरोप लगाउँछन् र आरोप खेप्नेले त्यसको प्रतिवाद गर्छ।

यी घटनालाई दुवै देशबीच चलिरहेको छायाँ युद्ध (स्याडो वार) को हिस्सा मानिएको छ। तर, दुवै देशले अहिलेसम्म एक–दोस्रोविरुद्ध सीधा हमला गरेका छैनन्। 

बीबीसीका सुरक्षा संवाददाता फ्य्रांक गार्डनर भन्छन्, ‘यो एक–दोस्रोमाथि हमला गर्ने खतरनाक खेल हो, जसमा ईरानका शीर्ष परमाणु वैज्ञानिकलाई इजरायलले हत्या गरेको प्रतिशोध गढेको छ। ईरानको परमाणु कार्यक्रमलाई तहसनहस बनाउने इजरायलको कोसिससँग जोडेर पनि यसलाई हेर्न सकिन्छ।’

दुवै देशमा नयाँ नेता 

यी पछिल्ला घटना यस्तो समयमा भएका छन्, जतिबेला ईरान र इजरायल दुवै देशमा नयाँ नेताहरूले सत्ताको कमान सम्हालेका छन्। अब यस छद्म युद्धमा दुई नयाँ नेता सहभागी भएका छन्। 

एकातर्फ ईरानी राष्ट्रपति पदमा कट्टरवादी राष्ट्रपति इब्राहिम रइसी चुनिएका छन्। रइसी ईरानका सर्वोच्च नेता अयतोल्लाह अली खमेनईका निकट हुन्। उनी इजयरायलका खुला विरोधी नै हुन्। रइसीले इजरायललाई एक खतरनाक खतरा बनाउने गर्छन्। 

अर्कातर्फ, इजरायलका नयाँ प्रधानमन्त्री नेफ्टाली बेनेटले पहिले नै आफूले पूर्ववर्ती प्रधानमन्त्री बेञ्जामिन नेतन्याहूले झैँ ईरानको विरोध गर्ने बताइसकेका छन्। 

यूनिभर्सिटी अफ ब्रेडब्याण्डको शान्ति अध्ययन विभागमा अन्तरराष्ट्रिय सम्बन्धका प्राध्यापक रहेका क्रिस्टोफर ब्लथका अनुसार दुवै देशका नेताले सत्ता सम्हाल्दै गर्दा छद्म युद्धमा कुनै असर परेको छैन। 

उनले भनेका छन्, ‘नेतृत्व बदलिँदै गर्दा दुवै देशले एक–अर्काप्रति यसअघि लिएको नीतिमा कुनै परिवर्तन भएको देखिएको छैन।’​

ब्लथका अनुसार इजरायलका नयाँ प्रधानमन्त्री बेनेट अमेरिकालाई ईरानसँग परमाणु सम्झौतामा फेरि सहभागी हुन नदिन छायाँ युद्धलाई बढावा दिइरहेका छन्।

उनी थप्छन्, ‘यो नै सबैभन्दा ठूलो कारण हुनसक्छ, किनकी इजरायलले ईरानी जहाजमा हमला थप तेज पारेको छ र ईरानले पनि जवाफी हमला गरिरहेको छ। 
यो छायाँ युद्धमा दुवैतर्फ यस्तो समयमा घटनाहरू भइरहेका छन्, जतिखेर भियनामा ईरान परमाणु सम्झौतालाई फेरि ब्यूँताउन वार्ता चलिरहेको छ।’ 

यसमा सम्झौता भए ईरानले आफ्नो परमाणु कार्यक्रमलाई सीमित गर्नेछ र बदलामा उसमाथि लगाइएका प्रतिबन्ध हटाउनुपर्नेछ।

गम्भीर खतरा निम्तिएको कुरा सत्य हो। स्थिति खतरनाक तहमा पुगे परिणाम के हुनेछ भन्नेबारे दुवै देश जानकार छन्, दुवै पक्षले पूर्ण युद्ध झेल्न सक्दैन। इजरायल उक्साहटमा गरिने हमलाबाहेक अमेरिकाप्रति पूर्णतः निर्भर रहन सक्दैन।

फ्य्रांक गार्डनरका अनुसार ईरान र इजरायल दुवै देशका धेरै मानिसहरूले यो सम्झौता फेरि होओस् भन्ने चाहेका छैनन्। 

गार्डनर भन्छन्, ‘ईरानमा यो सम्झौताप्रति विश्वास नगर्नेहरू धेरै छन्, फेरि सम्झौता होस् भन्ने उनीहरू चाहँदैनन्। अर्कातर्फ यो पनि तथ्य हो कि इजरायलसमेत सो सम्झौताप्रति सन्तुष्ट छैन। सम्झौता ईरानको पक्षमा भएको इजरायललाई लागेको छ। अर्कातर्फ, बेलायत र अमेरिका ईरानसँगको सो सम्झौता फेरि लागू होओस् भन्ने चाहन्छन्।’ 

इजरायल एक्लिनसक्छ

रोयल युनाइटेड सर्भिस इन्स्टिच्यूटका मध्य–पूर्व मामिला जानकार माइकल स्टीफेन्स इजरायलले ईरानको जहाजलाई निशाना बनाउनु परमाणु सम्झौतालाई तितरबितर बनाउने स्वार्थसँग जोडिएको बताउँछन्। 

स्टीफेन्स भन्छन्, ‘इजरायलले एकतर्फी आक्रमण गर्नुको पछाडि ईरान परमाणु सम्झौतालाई तहसनहस बनाउने प्रयास लुकेको छ। यो एक खतरनाक बाटो हो। अमेरिका ईरानसँग परमाणु सम्झौतामा फेरि सहभागी हुन खोजिरहेको छ, इजरायलका पछिल्ला कदमले ईरानसँगको वार्तामा अमेरिकी पक्ष कमजोर बन्नसक्छ।’

ईरानले पनि जवाफमा विश्वभर इजरायलको हितमाथि हमला गर्नसक्ने जोखिम लुकेको छैन। इजरायलले पहिले नै ईरानको परमाणु कार्यक्रममा अवरोध गर्न खोजेको सावित भइसकेको छ। यस्तो भैरहे भविष्यमा कसले कति मूल्य चुकाउनेछ भन्ने आंकलन गर्न गाह्रो पर्ने स्टीफन्स बताउँछन्। 

माथि उल्लेख गरिएझैँ ईरानमा पनि परमाणु सम्झौताका विरोधीहरू धेरै छन्, जो ईरान र अमेरिकाबीच नयाँ सम्झौता नहोस् भन्ने चाहन्छन्। नयाँ राष्ट्रपति सर्वोच्च नेता खमेनईको निकै नजिक छन्।

अर्कातर्फ ईरानमा अमेरिकाको कट्टर विरोधी रिभोल्यूश्नरी गार्ड छ। अनि, पश्चिमा मुलुकसँग देशको सम्बन्ध राम्रो नहोस् भन्ने चाहने अर्काथरी मानिसहरू पनि ईरानमा छन्। 

प्राध्यापक ब्लथ भन्छन्, ‘मलाई लाग्दैन कि इजरायलले ईरानको परमाणु कार्यक्रमलाई निस्तेज पार्न सक्छ। इजरायल यो पनि चाहँदैन कि बाइडेन प्रशासनमा उसप्रति निकै नकारात्मक भावना बनोस्।’

उनी थप्छन्, ‘गम्भीर खतरा निम्तिएको कुरा सत्य हो। स्थिति खतरनाक तहमा पुगे परिणाम के हुनेछ भन्नेबारे दुवै देश जानकार छन्, दुवै पक्षले पूर्ण युद्ध झेल्न सक्दैन। इजरायल उक्साहटमा गरिने हमलाबाहेक अमेरिकाप्रति पूर्णतः निर्भर रहन सक्दैन।’

बाइडेन प्रशासनले सीरियामा ईरान समर्थित मिलिशियामाथि हमला शुरू गरेको छ। सीरिया लडाइँमा अमेरिका र इजरायल एकसाथ छन्।

तर, समुद्रमा चलिरहेको पछिल्लो छद्म युद्धका कारण इजरायल एक्लिने सम्भावना निकै रहेको प्राध्यापक ब्लथ बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.